प्रोस्टेट क्यान्सर पुरुषहरूमा हुने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक हो, तर धेरैजसो अवस्थामा यो धेरै ढिलो पत्ता लाग्छ । ढिलो पत्ता लाग्नाले उपचारलाई गाह्रो बनाउँछ । यद्यपि प्रोस्टेट क्यान्सरको उपचार छ र सफलतापूर्वक निको पार्न सकिन सम्भावना उच्च छ ।
तर प्रारम्भिक चरणहरूमा यसलाई पत्ता लगाउन गाह्रो छ । यसका यस्ता केही लक्षणहरू पनि छन्, जुन पुरुषहरूले प्रायः बेवास्ता गर्छन् । प्रोस्टेट क्यान्सरका लक्षणलाई बुढ्यौलीको समस्या हो भनेर ध्यानै दिँदैनन् । प्रोस्टेट क्यान्सर चाँडै पत्ता नलाग्नुका धेरै कारणहरू छन् ।
सुरुमै पत्ता लगाउन किन गाह्रो छ प्रोस्टेट क्यान्सर ?
ढिलो गरेर बढ्नु – प्रोस्टेट क्यान्सर कोषहरू सामान्यतया निकै बिस्तारै बढ्छन् । प्रारम्भिक ट्युमर प्रोस्टेट ग्रन्थिभित्र सीमित रहन्छन् र वरपरका अङ्गमा दबाब दिँदैनन् । प्रोस्टेट पेल्भिसको निकै भित्र हुने भएकोले, साना ट्युमरहरूले न त पीडा दिन्छन् न बाहिरबाट महसुस गर्न सकिन्छ ।
सामान्य रोगहरूसँग समानता – प्रोस्टेट क्यान्सरका प्रारम्भिक लक्षणहरू प्रायः गैरघातक प्रोस्टेटिक हाइपरप्लासिया जस्ता सामान्य रोगहरूसँग मिल्दोजुल्दो हुन्छन् । प्रोस्टेट ग्रन्थिको वृद्धि बुढ्यौलीसँगै हुने सामान्य प्रक्रिया हो । पुरुषहरूले प्रायः पिसाबसम्बन्धी समस्याहरूलाई बुढ्यौलीको सामान्य समस्या मानेर बेवास्ता गर्छन्, तर तिनीहरू क्यान्सरको संकेत पनि हुन सक्छन् ।
स्क्रिनिङका सीमितता – प्रोस्टेट–विशिष्ट एन्टिजेन (पीएसए) परीक्षण र डिजिटल रेक्टल परीक्षणहरू यो रोगको पहिचानको लागि आवश्यक छन्, तर तिनीहरू सधैँ सही हुँदैनन् । कहिलेकाहीँ, संक्रमण वा अन्य कारणहरूले गर्दा पीएसएको स्तर बढ्न सक्छ, जसलाई फल्स पोजिटिभ भनिन्छ ।
यी लक्षणहरूप्रति रहनुहोस् सतर्क
प्रारम्भिक चरणहरूमा कुनै लक्षणहरू नभए पनि क्यान्सर बढ्दै जाँदा शरीरले केही संकेत देखाउन थाल्छ ।
- पिसाब फेर्न गाह्रो हुनु वा बढी बल लगाउनुपर्ने
- पिसाबको धारकमजोर हुनु वा रोकिएर आउनु
- विशेषगरी रातमा बारम्बार पिसाब फेर्न मन लाग्नु
- पिसाब फेरेपछि पनि पिसाब थैली पूर्ण रूपमा खाली नभएको महसुस हुनु
- पिसाबमा रगत देखिनु
- वीर्यमा रगत देखिनु
- अचानक इरेक्टाइल डिसफंक्शनको समस्या सुरु हुनु
- पिसाब फेर्दा वा स्खलन हुँदा दुखाइ वा जलन महसुस हुनु
यदि क्यान्सर प्रोस्टेटभन्दा बाहिर हड्डी वा अन्य अङ्गहरूमा फैलियो भने समस्या झन् बढ्न सक्छ :
- कम्मर, ढाड वा छातीमा निरन्तर दुखाइ हुन्छ
- खुट्टामा कमजोरी वा सुन्न महसुस हुन्छ
- कुनै कारण बिना अत्यधिक थकान वा तौल घट्छ
रोकथामको लागि के गर्ने ?
प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न, ५० वर्षको उमेरपछि नियमित स्वास्थ्य जाँच गराउनु, वा पारिवारिक इतिहास भएमा ४५ वर्ष उमेर पछि, र डाक्टरको सल्लाह अनुसार पीएसए परीक्षण गराउनु महत्त्वपूर्ण छ ।
सत्यपाटी