नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकलाई धम्की दिने एक व्यक्ति पक्राउ परेपछि बन्द रहेको ओपिडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन भएको छ । चिकित्सकहरूमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका कुशल दर्लामी पक्राउ परेपछि नेपालगन्जस्थित भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् ।
बाँके, बैजनाथ–६ की दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा विवाद गर्नुका साथै चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै धम्की दिएका थिए । महिलाको मृत्युको घटनामा कानुनी प्रक्रियामा जाने सहमति भए पनि मृतकका भान्जा कुशल दलामीले चिकित्सकलाई धम्क्याएपछि असुरक्षाको महसुस गर्दै चिकित्सकहरूले आन्दोलनस्वरूप ओपिडी सेवा बन्द गरेका थिए ।
बुधबार प्रहरीले दलामीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि हालका लागि आन्दोलन फिर्ता लिएर काममा फर्किएको भेरी अस्पतालका प्रमुख डा.निराजन सुवेदीले जानकारी दिए । आन्दोलन फिर्ता भएसँगै अस्पताल प्रशासनले एक सूचना प्रकाशित गरी अस्पताल परिसरभित्र तस्वीर तथा भिडियो खिच्न कडाइ गरेको छ । अस्पतालको अनुमतिबिना कुनै पनि दृश्य खिच्न नपाइने व्यवस्था गरिएको छ ।
साथै, चिकित्सकमाथि हातपात र दुर्व्यवहारमा संलग्न अन्य व्यक्तिलाई पनि तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन अस्पतालले माग गरेको छ । अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएको जनाएको छ । काममा फर्किए पनि उनीहरूले केही महत्त्वपूर्ण मागहरू भने अघि सारेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधन २०७९) अनुसार दोषीमाथि कडा कारबाही गर्नुपर्ने, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने र सामाजिक सञ्जालमा राखिएका गालीगलौजका भिडियोहरू हटाउनुपर्ने उनीहरूको माग छ ।
यी मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी चिकित्सकहरूले दिएका छन् । यसअघि मङ्गलबारदेखि ओपीडी लगायतका सेवा ठप्प हुँदा पश्चिम नेपालकै प्रमुख अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा उपचारका लागि आएका बिरामीहरू निकै मर्कामा परेका थिए ।

सत्यपाटी