२०८३ वैशाख १३ , आइतबार 26, April 2026, Sunday

लागुऔषध ‘कारोबारी’ समाउन नेपालगन्जमा हवाइफायर

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख १३ गते आइतबार

प्रहरीले नेपालगन्जमा शनिबार (वैशाख १२) हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगर चोक नजिक तीन राउन्ड हवाइफायर गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउन सुगरसमेत प्रहरीले बारमद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले जानकारी दिए । नियन्त्रणमा लिएकामा नेपालगन्ज–२२ का ३५ वर्षीय नुरमोहम्मद किंगरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेका प्रहरी निरीक्षक विष्टले उल्लेख गरे ।

धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिने उनले बताए । ‘हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ । आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ,’ उनले भने ।

प्रकाशित मिति : २०८३ वैशाख १३ गते आइतबार