२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

खोप लगाउन छुटेका ८०० बालबालिका खोज्दै स्वास्थ्य कार्यालय

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ९ गते बुधबार

बाँके जिल्लामा खोपको मात्रा पूरा नगर्ने तथा विभिन्न खोप लगाउन छुटेका ८०० बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा विभिन्न खोप लगाउन छुटेका र खोपको मात्रा पूरा नगरेका ८०० बालबालिकाको यही वैशाख महिनाभरि खोजी गरेर खोप लगाइनेछ ।

छुटेका सबै बालबालिकाको खोजी गरेर खोप लगाई बाँके जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला वैशाख महिनामै घोषणा गरिने स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए । उनले खोपको मात्रा पूरा नगर्ने बालबालिकामध्ये सबैभन्दा बढी मुस्लिम समुदायका रहेको जनाइन् ।

उनका अनुसार सो समुदायका मात्रै ३५४ जना बालबालिकाले खोपको मात्रा पूरा नगरेको पाइएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत गिरीका अनुसार खोप लगाउन छुटेकामा मधेशी समुदायका १८९ जना, दलित समुदायका १२८ जना, जनजाति समुदायका ५७ जना छन् । खोप नलगाएका बालबालिकाको सङ्ख्या अझै उल्लेख्य रहेकाले वैशाख महिनाभर खोजी अभियान सञ्चालन गरिने उनले बताइन् ।

१६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै खोजपड्ताल अभियान सञ्चालन गरिएकोले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख महिनाभर खोजेर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले वैशाख महिनालाई खोप महिना तथा सचेतना प्रवर्धन महिनाका रूपमा मनाउँदै आएको छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई ‘खोप सप्ताह’ का रूपमा मनाइने जानकारी दिइन् ।

नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदा बाल मृत्युदर घट्दै गएको उल्लेख गर्दै उनले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई १३ प्रकारका खोप, गर्भवती महिलालाई आवश्यक खोप तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप प्रदान गरिँदै आएको बताइन् ।

खोप लगाउन छुटेका बालबालिकाको खोजी गरेर पहिले जिल्लाका आठ वटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने त्यसलगत्तै जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार