२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ९ गते बुधबार

गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङ्गर लगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताए ।

‘अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ,’ उनले भने । उनले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिँदै ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताउनुभयो । यस आर्थिक वर्षमा चिसो याममा समेत सर्पको उद्धार भएको थियो ।

उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वन रक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ । सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उहाँले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताए ।

बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ । यसैबीच, बाँकेमा वनमा हुने आगलागीका घटना नियन्त्रण गर्न ‘फायर एम्बुलेन्स’ टोली तयारी अवस्थामा राखिएको छ । वन अधिकृत गुप्ताले अग्नि हेरालुसहित वनमा फायर लाइन बनाउने काम जारी रहेको बताए । बाँके राष्ट्रिय निकुञ्जबाट सरेको आगो शम्शेरगन्जमा निभाइएको उनको भनाइ छ । ‘केही आगालगी वनमा भएको थियो तर अहिले नियन्त्रणमा आइसकेको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार