२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ८ गते मंगलबार

भगवान् रामको नगर भारतको अयोध्यासँग नेपालगन्जलाई धार्मिक रूपमा जोडेर दुबै देशको धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । देशकै पहिलो तथा अग्लो दाबी गरिएको सो १०८ फिट अग्लो हनुमानको मूर्तिको निर्माण कार्य तिव्र गतिमा भइरहेको र अन्तिम चरणमा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरका सिभिल इन्जिनियर सुरज शर्माले मूर्ति निर्माणको काम करिब ९० प्रतिशत पूरा भएको जनाउँदै आगामी दुई महिनामा सो कार्य पूरा हुने जानकारी दिए । उनले फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको र अब फिनिसिङ्गको काम हुने बताए ।

देशकै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणबाट नेपालगन्जको धार्मिक र सांस्कृतिक महत्त्व थप बलियो हुने र भारतको अयोध्यासँग सिधै सम्बन्ध जोडेर भगवान् रामको दर्शनका लागि अयोध्या पुग्ने पर्यटकलाई यहाँ ल्याउने प्रयास सुरु गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको बताए । उनले यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनाउँदै अयोध्यासँगको आध्यात्मिक कनेक्सनमा यो मूर्ति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

नेपालगन्जको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसँग जोडिएकोमा हनुमानको मूर्ति निर्माणपछि अब यसमा नयाँ आयाम थपिने स्थानीय अगुवा ललित रौनियारले बताए । उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि हनुमानको यो मूर्ति निकै फलदायी प्रमाणित हुने पनि बताए । १४ करोड चार लाख ६३ हजार रुपैयाँमा निर्माण भइरहेको सो मूर्ति निर्माण गरिरहेका कालिगढ दिलवीर सुनार सेन्चुरीले मूर्ति निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै अबको दुई महिनामा मूर्ति हस्तान्तरण गर्ने तयारी रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ हनुमानगढीमा सो मूर्ति निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते जम्बुदीप कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सुरुवातको अवधि २०८१ चैत २ गतेसम्म रहेकोमा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । तर, मूर्ति निर्माणको कार्य सो अघिनै सम्पन्न गरिने उपमहानगरका सिभिल इन्जिनियर सुरज शर्माले बताए ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार