२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

दुई लाख २७ हजार कुखुरा भएको फर्ममा बर्डफ्लु पुष्टि

सत्यपाटीसत्यपाटी । विराटनगर । २०८३ वैशाख ६ गते आइतबार

कोशी प्रदेशमा बर्डफ्लु संक्रमण तीव्ररूपमा फैलिएपछि पोल्ट्री व्यवसाय संकटमा परेको छ । संक्रमण नियन्त्रण गर्न आइतबारदेखि प्रदेशकै ठूला दुई पोल्ट्री फार्मका दुई लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । यो प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो घटना हो ।

भेटेरिनरी अस्पताल सुनसरीका प्रमुख डा.मनोजकुमार महतोका अनुसार सुनसरीको रामधुनीस्थित सुनसरी पोल्ट्री फार्ममा रहेका एक लाख ५५ हजार कुखुरा नष्ट गर्न लागिएको छ । संक्रमणले त्यहाँ करिब सात हजार कुखुरा आफैँ मरिसकेका छन् । बाँकी कुखुरा नष्ट गर्न ११० जना कामदारको टोली परिचालन गरिएको छ ।

त्यस्तै, मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा पनि संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा.अजयकुमार शाहका अनुसार उक्त फार्ममा रहेका ७२ हजारमध्ये करिब ४५ हजार कुखुरा नष्ट गर्ने तयारी पूरा भएको छ । डा.महतोका अनुसार बर्डफ्लु संक्रमित कुखुरालाई औषधि वा रसायन प्रयोग गरेर मार्न मिल्दैन ।

टाउकोमा हिर्काएर मारेपछि डोजरले खनेको गहिरो खाल्डोमा चुन र ब्लिचिङ पाउडर प्रयोग गरी सुरक्षित रूपमा पुर्ने काम भइरहेको छ । यसअघि नै बर्डफ्लुका कारण सुनसरी र मोरङका प्रभावित क्षेत्रमा डेढ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । संक्रमणले अर्बौंको लगानी जोखिममा परेपछि स–साना किसानदेखि ठूला व्यवसायीसम्म मर्माहत बनेका छन् ।

सरकारले नष्ट गरिएका कुखुराको ७५ प्रतिशतसम्म राहत दिने कानुनी व्यवस्था गरे पनि प्रक्रियागत ढिलाइ र सीमित बजेटका कारण किसानहरू चिन्तित छन् । हाल प्रशासनले प्रभावित क्षेत्रलाई सिल गरी मासु, अण्डा र दाना ओसारपसारमा कडा प्रतिबन्ध लगाएको छ । विज्ञहरूले आम उपभोक्तालाई मासु राम्ररी पकाएर मात्र खान र फार्महरूमा कडा जैविक सुरक्षा अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार