२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

एम्बुलेन्सको ठक्करबाट योग गुरुसहित दुई जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ६ गते आइतबार

बर्दियाको गुलरिया–७, वन डिभिजन कार्यालय नजिक आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको तीव्र गतिको एम्बुलेन्सले सडक पार गर्दै गरेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका पाँच वर्षीय नाति रिहान्स खरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक लामिछाने योग गुरु भएको समेत बताइएको छ ।

त्यस्तै, लामिछानेकी पत्नी सीता लामिछाने र स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । उनीहरूको नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बिहान योग अभ्यासका लागि आयुर्वेद अस्पतालतर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई ठक्कर दिएको हो ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार