२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday

कानको टपबाट सुरु भएको सम्झनाको संघर्ष

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८३ वैशाख ५ गते शनिबार

जुम्लाको विकट गाउँमा जन्मिएकी सम्झना रावलको बाल्यकाल अक्षर चिन्न नपाउँदै सकियो । जीवनमा जम्मा दुई दिन मात्र विद्यालयको पाइला टेकेकी उनलाई १५ वर्षकै उमेरमा विवाह गरिदिएर बुहारी बनाइयो । खेल्ने–कुद्ने उमेरमा घरको जिम्मेवारी सम्हालेकी सम्झनाको संघर्ष त्यतिमा मात्र सीमित रहेन ।

जब उनले लगातार चारवटा छोरी जन्माइन्, समाज र परिवारले उनलाई ’मान्छे’ को दर्जासमेत दिन छोड्यो । छोरी जन्माएकै कारण हेला र तिरस्कार खेपेकी उनले तेस्रो सन्तान जन्माउँदा त स्वास्थ्य चौकी जाने मान्छेसमेत पाइनन् र बाटोमै सुत्केरी भइन् ।

कानको टपबाट सुरु भएको त्यो यात्रा

अस्वस्थ शरीरको उपचारका लागि काठमाडौँ छिरेकी सम्झनालाई सहरको महँगीमा श्रीमानको सानो तलबले खान–बस्नसमेत धौ–धौ भयो । तर, हार मान्नु उनको स्वभावमा थिएन । केही गर्ने दृढ इच्छाशक्ति भएकी उनले अन्ततः आफ्नो कानको सुनको टप बेचिन् र त्यसैबाट एउटा सानो किराना पसल सुरु गरिन् ।

गाउँले स्वादले दिलाएको सफलता

सहरका चिल्ला–चाप्ला खाजा बनाउन नजाने पनि उनलाई गाउँले शैलीको सेलरोटी र रोटी बनाउन आउँथ्यो । उनले त्यही ’गाउँले स्वाद’ पस्किने निधो गरिन् । नभन्दै, उनको हातको मिठो रोटीले सहरियाहरूको मन जित्यो र उनी ’भाइरल सेलरोटीवाली’ जुम्ली दिदीका रूपमा चिनिन थालिन् ।

संघर्षको फल : अभावबाट ऐश्वर्यसम्म

हिजो एउटा टप बेचेर व्यवसाय सुरु गरेकी सम्झनाले आज त्यही रोटीकै आम्दानीबाट काठमाडौँमा आफ्नै घर र जग्गा जोडेकी छन् । छोरीहरूलाई उच्च शिक्षा दिएर इमानको जीवन बाँचिरहेकी सम्झना आज हजारौँ महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार