२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

बर्दियातर्फ लैजान लागिएका बालबालिकाको उद्धार

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८३ वैशाख ४ गते शुक्रबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी–४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको बिहीबार बिहान उद्धार गरिएको हो ।

गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ः०० बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिए ।

उनका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकको लिखित मन्जुरी नलिइ, वडा कार्यालयसँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराइ गैरकानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नं. ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो । पालिकाका बालकल्याण अधिकारी ओलीको सहजीकरणमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।

१५ जना बालबालिकामध्ये नौ जना बालक र छ जना बालिका रहेका ओलीले जानकारी दिए । तीमध्ये १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका उनको भनाइ छ । कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पूरा गरिएन ? लगायत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार