वसन्तकालीन यामका लागि चीनले विदेशी नागरिकलाई सगरमाथा आरोहण गर्न अनुमति जारी नगरेपछि दक्षिणतर्फबाट हुने सगरमाथा आरोहण करिब ३० प्रतिशतले बढ्न सक्ने अपेक्षा गरिएको छ । पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घका अनुसार फागुनदेखि वैशाखसम्मको मौसम सगरमाथा आरोहणका लागि प्रमुख याम मानिन्छ ।
तर यस वर्ष चाइना तिब्बत माउन्टनियरिङ एसोसिएसन (सिटिएमए)ले उत्तरी मोहडाबाट हुने आरोहणका लागि अनुमति जारी नगरेकाले नेपालबाट हुने आरोहण र आरोहणबापत सरकारी कोषमा दाखिल हुने राजस्व (सलामी रकम) मा बढोत्तरी हुने देखिएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भने, ‘चीन सरकारले तिब्बतबाट सगरमाथा आरोहण गर्न अनुमति नदिएको भन्ने सुन्नमा आएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आरोहणमा पर्न सक्ने असरबिच चिनियाँ सरकारले तिब्बतबाट आरोहण अनुमति जारी नगरेको खबरले सगरमाथा आरोहणमा थप उत्साह आउने देखिएको छ ।’
उनका अनुसार दुवै पक्षले आरोहणबारे आधिकारिक जानकारी आदानप्रदान गर्ने चलन नभए पनि पछिल्ला सूचनाले यस वर्ष दक्षिण मोहडाबाट मात्रै सगरमाथा आरोहण हुने देखिएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति चार हजार अमेरिकी डलर (मङ्गलबारको विनिमयदर अनुसार पाँच लाख ९५ हजार) आरोहण दस्तुर बढेकाले राजस्व आम्दानीमा समेत निकै बढोत्तरी हुने उनले जानकारी दिए ।
यसअघि विदेशी नागरिकले वसन्तयाममा सगरमाथा आरोहण गर्न ११ हजार डलर तिर्दै आएकामा यो यामदेखि अनुमति शुल्क १५ हजार अमेरिकी डलर पुगेको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार सिटिएमएले यस याममा सगरमाथा आरोहणका लागि अनुमति नदिँदा नेपालमा ३० प्रतिशत आरोही बढ्न सक्ने बताए ।
उनले यस वर्ष सिटिएमएले सगरमाथा र सिसपाङ्मा हिमाल आरोहणको अनुमति रोकेपछि चोयुको आरोहणसमेत रोकिएको जानकारी दिए । चीन सरकारले हिमालमा भएका विवादास्पद घटनाका कारण यस याममा आरोहण अनुमति रोकिएको जनाइएको छ । विभागका अनुसार शनिबारसम्म सगरमाथा आरोहणका लागि ४१ देशका २०४ आरोहीले अनुमति लिएका छन् । सगरमाथामा अनुमति दिएबापत ४४ करोड ४० लाख ८५ हजार ६१२ रुपैयाँ हिमाली दस्तुर सङ्कलन भएको छ ।
सत्यपाटी