२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

६४ देशका आरोही हिमाल आरोहणको पर्खाइमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २८ गते शनिबार

यस वर्षको वसन्तयाममा सगरमाथा लगायतका हिमाल आरोहणका गर्न नेपालसहित ६४ देशका ५४४ पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित २३ वटा हिमाल आरोहण गर्न ६९ समूहका ५४४ आरोहीले अनुमति लिएका हुन् ।

अनुमति लिनेमा १४१ महिला र ४०३ जना पुरुष छन् । वसन्तयाममा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि यसवर्ष ४३ जना महिला र १६१ पुरुष गरी २०४ जनाले अनुमति लिएका छन् । यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ४१ देशका आरोही आरोहणको तयारीमा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार फागुन १७ गतेदेखि शुक्रबारसम्म २३ वटा हिमाल आरोहण गर्न अनुमति दिएबापत ५२ करोड ५४ लाख १३ हजार २२२ रुपैयाँ हिमाली दस्तुर (राजस्व) सङ्कलन भएको छ । जसमध्ये सगरमाथाबाट मात्रै यस यामका लागि ४४ करोड ४० लाख ८५ हजार ६१२ रुपैयाँ सरकारी कोषमा दाखिला भएको छ ।

त्यस्तै धवलागिरि पहिलोबाट एक करोड २५ लाख ६० हजार ८५०, अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५, मकालु पहिलोबाट एक करोड ३३ लाख ६७ हजार ९००, ल्होत्सेबाट एक करोड २१ लाख तीन हजार ६५० र कञ्चनजङ्घा प्रमुखबाट ९७ लाख ६३ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार