२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

पेडारी नालामा पक्की पुल निर्माण, बर्सौंदेखि सास्ती हट्यो

नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तरगत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि यात्रुले बर्सौंदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले पेडारी नालामा लक्ष्य अनुसार निर्धारित समयमै पुलको काम सम्पन्न भएको जानकारी दिए । प्रमुख भण्डारीले भने, ‘आयोजनाको निरन्तरको अनुगमन र निर्माण व्यवसायीको सक्रियतामा निर्धारित समयभन्दा पहिले नै पुल निर्माण सम्पन्न भएको छ ।’

पक्की पुल निर्माण भएपछि अहिले सवारीसाधन नयाँ पुलबाट सञ्चालन भइरहेका छन् । पुल निर्माण भए पनि पुलको दुवैतर्फ ५०–५० मिटर गरी १०० मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको छ । कालोपत्रे गर्ने कार्य पनि केही दिनमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार