२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

डुडुवाको टेपरी नालामा निर्माण गरिँदै ट्रस ब्रिज

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २० गते शुक्रबार

बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण गर्न थालेको छ । डुडुवा गाउँपालिका वडा नं.१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निर्माण सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज उक्त योजना निमार्णको शिलान्यास गरेका छन् ।

अध्यक्ष चौधरीले डुडुवा नाला पारीका स्थानीयलाई आवतजावतमा सहजताका लागि ट्रस ब्रिज निमार्ण गर्न लागेको भन्दै बर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले पालिकासँग सिमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निर्माणको पहल गर्ने प्रतिबद्धता गरे ।

रु एक करोड ११ लाखको लागतमा ५७ मिटर लामो पुल लुम्विनी इन्जिनियरिङ्ग वक्र्स प्रालिले निर्माणको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार निमार्ण कम्पनीले दुई महिनाभित्र निमार्ण सम्पन्न गर्नेछ । पुलबाट डुडुवा नालापारि चौफेरी, कृषि चौफेरी, छिटैपूर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका स्थानीयहरु लाम्भाविन्त हुनेछन् ।

बाढी प्रभावित क्षेत्र तथा विकास निर्माणले पछि परेको डुडुवा गाउँपालिकाको वडा नं.१ लाई पालिकाले विशेष प्राथमिकताका साथ सो क्षेत्रको विकास गर्दै आएको छ । उक्त क्षेत्रलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा गुरुयोजना लागु गरेर कार्य गरिरहेका गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार