बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका राष्ट्रपति कृषक पुरस्कार विजेता किसान जयपाल मौर्य यतिबेला आलुको बीउ ‘ग्रेडिङ’ कार्यमा व्यस्त छन् । गत वर्ष जिल्लाबाट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका ४३ वर्षीय मौर्यले यस वर्ष १०१ कट्ठा जमिनमा उत्पादन गरिएको आलुको बीउ ग्रेडिङ भइरहेको जानकारी दिए ।
दुई दशकदेखि कृषिमा सक्रिय मौर्यका अनुसार यस वर्ष करिब ८०० क्विन्टल आलुको बीउ उत्पादन भएको छ । उत्पादन गरिएको बीउ स्थानीय सरकारले निर्माण गरेको कोल्ड स्टोरमा भण्डारण गरिएको छ । ‘एक सातादेखि आलुको बीउ ग्रेडिङ भइरहेको छ, शुक्रबारसम्म काम सकिनेछ,’ मौर्यले भने ।
उनका अनुसार यस वर्ष उन्नत जातको ‘कार्डिनल’ आलु ठूलो क्षेत्रफलमा खेती गरिएकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । अघिल्ला वर्षमा सीमित उत्पादन हुने उक्त जातको आलु यसपटक बढी जमिनमा लगाइएकाले राम्रो परिणाम आएको बताउँदै उनले यस खेतीमा करिब पाँच लाख रुपैयाँ लगानी भएको जानकारी दिए ।
मौर्यले आलु रोप्ने सिजनमा कोल्ड स्टोरबाट बीउ निकालेर प्रतिकिलो ३५ देखि ५५ रुपैयाँसम्म बिक्री हुने बताए । यसबाट करिब १२ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । किसानहरूका अनुसार कात्तिक मसान्त वा मङ्सिरमा रोपिएको आलुको बीउ उत्पादन हुन ९० देखि १२० दिनसम्म लाग्ने गर्दछ ।
कोल्ड स्टोरमा बीउ राख्दा प्रतिकिलो चार रुपैयाँ शुल्क लाग्ने गर्दछ । डुडुवासँगै कोहलपुरमा पनि कोल्ड स्टोर सुविधा उपलब्ध रहेको छ । कृषि ज्ञान केन्द्र, नेपालगन्जबाट उपलब्ध गराइएको उन्नत जातको पीबीएस दानाबाट बीउ उत्पादन गरिएको मौर्यले बताए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले आलुको पीबीएस दानालाई दोस्रो र तेस्रो पुस्तासम्म विस्तार गर्न सकिने बताउँदै जिल्लामा आलु बीउ उत्पादन विस्तारमा जोड दिइएको जानकारी दिए ।
त्यसैगरी, वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले गुणस्तरीय आलु बीउ उत्पादनका लागि किसानले अनिवार्य रूपमा तालिम लिनुपर्ने आवश्यकता रहेको बताए । अन्यथा उत्पादन प्रक्रियामा समस्या आउन सक्ने उनको भनाइ छ । उनका अनुसार सिन्धुपाल्चोकबाट ल्याइएको पीबीएस दानाबाट बाँकेमा राम्रो उत्पादन भइरहेको छ । किसान मौर्यलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।
सत्यपाटी