२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

भोलिदेखि एसइई परीक्षा सुरु, एक महिनाभित्रै नतिजा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १८ गते बुधबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको एसइईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना छन् । यस वर्ष पनि जापानमा कायम गरिएको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

यस्तो छ परीक्षा तालिका

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

चैत २० – अनिवार्य नेपाली
चैत २२ – अनिवार्य गणित
चैत २३ – विज्ञान तथा प्रविधि
चैत २४ – सामाजिक अध्ययन
चैत २५ – ऐच्छिक प्रथम खण्ड
चैत २६ – ऐच्छिक द्वितीय खण्ड
चैत २७–२९ – प्राविधिक धारका बाँकी विषय

सामूहिक अनुगमनमा रोक

यस वर्ष बोर्डले परीक्षा केन्द्रमा सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा हलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा बाधा पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ ।

अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केन्द्रको बाहिरी क्षेत्रबाट मात्र अनुगमन गर्ने व्यवस्था गरिएको छ । पत्रकारलाई पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न अनुमति दिइएको छ ।

कडा सुरक्षा व्यवस्था

बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रत्येक केन्द्रमा औसत १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक तथा अन्य सहयोगी कर्मचारी खटाइनेछन् ।

एक महिनाभित्र नतिजा

यस वर्षको सबैभन्दा महत्वपूर्ण निर्णयअनुसार उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिनेछ । बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ । त्यसका लागि उत्तरपुस्तिका जहाँ परीक्षा भएको हो, त्यहीँबाट परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

सस्मित पोखरेलले पनि एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन् । गत वर्षसम्म एसईईको नतिजा असार दोस्रो सातासम्म सार्वजनिक हुने गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार