२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

रुपैडिहा बसपार्कमा नेपाली यात्रुमाथि ठगी र लुटपाट

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १८ गते बुधबार
स्वदेश फर्किने क्रममा भारतको रुपैडिहास्थित बसपार्कमा पुगेका नेपाली यात्रु ।

नेपाल–भारत सीमापारी रुपैडिहा रोडवेज बसपार्क क्षेत्रमा नेपाली यात्रुमाथि ठगी, लुटपाट र दुव्र्यवहारका घटना फेरि बढ्न थालेका छन् । बसपार्कमा राति १२ देखि बिहान ८ बजेसम्म करिब डेढ दर्जन बस आगमन हुने हुँदा विशेषगरी बिहान ३ बजेतिर दलालहरूको सक्रियता उच्च देखिएको छ ।

भारतबाट नेपाल फर्किने यात्रुहरूले राति बसपार्कमा असुरक्षित अनुभव गर्ने गरेका छन् । सल्यान कपुरका दिलबहादुर थापाका अनुसार, बसपार्कमा सुरक्षा व्यवस्था नहुँदा केही व्यक्तिहरूले यात्रुलाई तानातान गर्ने, रकम माग्ने, धम्की दिने र डराउने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।

उनले भने, ‘नेपाल–भारत सीमा बिहान ६ बजेपछि मात्र खुल्ने भएकाले राति रुपैडिहा बसपार्क पुग्ने नेपालीहरु निकै असुरक्षित छन् ।’ अत्यन्तै राति बसपार्क पुग्ने यात्रुहरूका मोबाइल चोरी, जेब काटिने र सामान हराउने जस्ता घटनाहरू दिनदिनै बढ्दै गएको गुनासो छ । अमृतसरबाट फर्किएका कालिकोटका रमेश रावलले केही अज्ञात व्यक्तिहरूले उनको मोबाइल र रकम जबर्जस्ती लिएर लगेको बताए ।

यसअघि केही समयअघि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेल नेतृत्वमा पुगेको टोलीले भारतीय प्रहरी र एसएसबीसहितका सुरक्षा अधिकारीसँग भेटेर दलाल र गुण्डाहरूबाट नेपाली यात्रुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको थियो । तर केही दिनपछि फेरी उस्तै अवस्था देखा परेको छ । रुपैडिहाका पत्रकार एसके मधेशियाका अनुसार, हालैमात्रै बिहान एक नेपाली यात्रुको झोला हराएको घटना सार्वजनिक भएको छ भने मोबाइल चोरी र सामान हराउने घटनाहरू पनि दिनदिनै बढिरहेको छ ।

बसपार्कका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशले प्रहरी परिचालनका लागि लिखित जानकारी दिए र यात्रुको सुरक्षाका लागि राति दुई जना स्थायी प्रहरी खटाउनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष भिमलाल कंडेलले गैरकानुनी होटल व्यवसाय र अराजक गतिविधिहरू अटोवालाहरूसँग ५०–५० रुपैयाँ लिन प्रोत्साहित भइरहेको उल्लेख गर्दै, दुबै देशका सुरक्षाकर्मीले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार