तरकारी उत्पादनमा प्रयोग गरिने विषादीमा सावधानी नअपनाउँदा क्यान्सर मिर्गौला रोगी बढ्दै गएको जानकारहरूले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको कार्यक्रममा जानकारहरूले यस्तो बताएका हुन् ।
उपभोक्तालाई विषादीको असर कम भएपछि मात्रै तरकारी उपभोग गर्ने तरिका सिकाउनुपर्ने जनस्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए । ‘विषादीको असर कम गर्नेबारे सचेतना नहुँदा क्यान्सर मिर्गौला फेल जस्ता जटिल बिरामी बढ्दै गएका छन् । विषादीको असर कम गर्दै तरकारी उपभोगको तरिका सिकाउन अत्यावश्यक भइसकेको छ,’ गेलालले भने ।
कृषक, उपभोक्ता र व्यवसायीबीच समन्वय गर्दै सचेतना फैलाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा घिमिरले बताइन् । ‘कोरोनाको समयमा नागरिकलाई यसबारे सचेत गराइएको थियो । अझै वृहत् सचेतना कार्यक्रमको आवश्यक देखिएको छ,’ उनले भनिन् । विषादी परीक्षणको प्रयोगशाला स्थानीय स्तरमै बढाउनुपर्ने उनले बताइन् ।
कृषि विकास कार्यालय ललितपुरकी बाली संरक्षण अधिकृत रीतिक्षा पौडेलले किटनाशक विषादीले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै खेतमा प्रयोग गर्दादेखि उब्जनीको उपभोगसम्म सचेत हुनुपर्ने बताइन् । ‘तराई र काठमाडौं उपत्यकामा धेरै विषादी उपयोग हुँदै आएको छ । नेपाल विश्वमा कम विषादी प्रयोग गर्ने देश भए पनि सुरक्षित प्रयोगमा ध्यान नदिँदा त्यसको असर बढी पर्ने गरेको छ,’ उनले भनिन् ।
नेपालमा प्रतिहेक्टर ०.३९६ किलोग्राम विषादी प्रयोग हुँदै आएको उनले बताइन् । विषादी व्यवसायी संघका अध्यक्ष गणेश बानियाँले स्थानीय तहको प्राविधिक जनशक्तिले किसानसम्म पुगेर सचेतना जगाउनुपर्ने बताए । किसानका लागि सरकारले विषादी व्यवस्थापन प्रणालीको व्यवहारिक ज्ञान दिनुपर्ने उनले बताए ।
सत्यपाटी