नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो ।
शर्मा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो । ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रम शोषण गरेको आरोप थियो ।
ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन् । उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौँ महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो । त्यतिबेला शर्माविरुद्धको जाहेरीमा सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मानव अधिकार आयोगलेसमेत झिकाएको थियो । सत्ताको प्रभावमा परेर आफ्ना सांसदलाई उन्मुक्ति दिएकोमा विरोध भएपछि आयोगले चासो देखाएको थियो । त्यतिबेला काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले यसबारे प्रतिक्रिया दिएका थिए ।
उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’

सत्यपाटी