२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ११ गते बुधबार

नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । आज विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए ।

उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए । नेपालमा २०८१–०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए ।

उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सो सम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए । यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए । केन्द्रका निर्देशक डा पौडेलले औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताए ।

उनका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहार्नुपरेको छ । समाजमा क्षयरोगीलाई लाञ्छना र सामाजिक भेदभाव पनि समस्याका रूपमा रहेको उनले उल्लेख गरे । नेपालमा हरेक वर्ष १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जनाइएको छ । यस रोगबाट मृत्यु दर प्रतिएक लाखमा ५३ जना रहेको छ ।

निर्देशक डा पौडेलले नियमित औषधि सेवन गरे ९२ प्रतिशत क्षयरोग निको हुने बताए । ‘नियमित छ महिना औषधि खाएका सय जनालाई हामीले परीक्षण गरेका थियौँ । तीमध्ये ९२ प्रतिशतको उपचार सफल भएको पाइयो,’ उनले भने, ‘यसकारण समयमा र नियमित उपचार गर्न यो रोग लागेकाहरूलाई आग्रह गर्दै आएका छौँ ।’

सरकारले सन् २०५० सम्म क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको जनाइएको छ । केन्द्रका निर्देशक डा पौडेलका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य रहेको छ । हिजो ‘हो हामी क्षयरोग अन्त्य गर्छौं । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार