२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

कत्था उद्योगको विषाक्त पानी नहरमा मिसाउँदा जानकी र राँझा क्षेत्र दुर्गन्धित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ३० गते शनिबार

बाँकेको जानकी गाउँपालिकास्थित भिखारीपुर्वा–पार्वतीपुर क्षेत्रको नहरमा कत्था उद्योगबाट निस्कने फोहोर पानी विसर्जन गरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको छ । उद्योगले प्रशोधन नगरी सिधै नहरमा फालेको दुर्गन्धित र कालो पानीका कारण मानव स्वास्थ्य मात्र नभई पशुचौपाया र कृषि बालीमा समेत नकारात्मक असर परेको हो ।

बाँकेको जानकी गाउँपालिका–६, गनापुरमा रहेको शिव कत्था उद्योगबाट निस्किने लेदोसहितको पानी सिक्टाको नहरमा मिसाइदिँदा नेपालगन्ज उपमहानगरपालिका–२० का राझा क्षेत्रका बस्तीहरुका साथै राँझा नहरबाट बनिया गाउँ हुँदै इलाका प्रहरी कार्यालय खजुराखुर्द नजिकको नालासम्म बग्ने पानी अत्यन्त प्रदूषित बनेको छ ।

कत्था प्रोसेसिङपछि निस्किएको पानीसहितको लेदो नहरमा मिसाउँदा चराचुरुङ्गीका साथै घरपालुवा जनावरहरुलाई गम्भीर असर परेको नेपालगन्ज–२० का वडा सदस्य चक्रबहादुर बुढा बताउँछन् । उद्योगले कच्चा पदार्थ प्रशोधन गरेर मिस्किएको लेदो सोझै नहरमा मिसाउँदा त्यसको दुर्गन्ध सिक्टा नहरमा फैलिएपछि वडा नं. २० का बस्तीहरु प्रभावित भएको उनले बताए ।

‘दुर्गन्धका कारण घरभित्र समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘दुर्गन्धले खाँदाखाँदैको खानासमेत छोड्नुपर्ने अवस्था छ ।’ दुर्गन्धले घरमा राम्रोसँग बस्न र खेतवारीमा राम्रोसँग काम गर्न सक्ने अवस्था समेत नरहेको वडा सदस्य बुढाको भनाई छ । जानकी गाउँपालिका–६ का कबिर खाँले भने, ‘उद्योगले हाम्रो निद हराम गरी सक्यो ।’

वातावरण दुर्गन्धित बनाउने गरी सञ्चालनमा रहेको उद्योगलाई स्थानीय प्रहरी, प्रशासनको समेत संरक्षण रहेको उनको भनाई छ । उनले प्रहरी प्रहरीको आडमा उद्योगले रातीको समयमा विषाक्त लेदो नहरमा मिसाउने गरेको आरोप लगाए । यस क्षेत्रका स्थानीयहरुले कत्था उद्योगले रातीको समयमा सिँधै नहरमा ढल मिसाउने गरेको बताए ।

शिव कत्था उद्योगले विषाक्त तरल पदार्थ मिसिएको पानी बग्ने ढल लामो समयदेखि सीधै नहरमा मिसाइरहेको पाइए पनि नियमनकारी निकाय भने त्यसलाई रोक्नेबारे उदासिन देखिएका छन् । कत्था उद्योगले विषाक्त रसायनयुक्त ढल नहरमा मिसाएपछि स्थानीयले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गर्दै आए पनि नियमन गर्ने निकाय भने त्यसबारे बेखबर देखिएका हुन् ।

शिव कत्था उद्योगबाट निस्किने रसायनयुक्त विषाक्त पदार्थले नहरको पानीको रंगसमेत कालो भएको देख्न सकिन्छ । उक्त पानी पूर्णरुपमा दुषित रहेकोले उक्त पानीबाट सिंचाई गर्दा बालीनाली नै नष्ट हुने स्थानीयको भनाई छ । उद्योगले कत्था उत्पादन गर्दै निस्कने विषाक्त पदार्थ संसोधन नगरी नहरमा मिसाउने गरेको छ ।

जानकी–५ का स्थानीय शिया यादवले भने, ‘नहरको पानी कालो र गन्हाउने भएपछि दैनिक जीवन कष्टकर बनेको छ । यो पानीका कारण पशुपन्छी बिरामी पर्न थालेका छन् भने सिँचाइ गर्दा अन्नबाली समेत सप्रिन छाडेको छ ।’ जानकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष एवं प्रवक्ता टिकानाथ यादवले यसलाई गम्भीर समस्याका रूपमा लिँदै तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।

उनले जनस्वास्थ्यमा खेलबाड गर्ने गरी उद्योगले गरेको यस्तो कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष छब्बन खाँले जनस्वास्थ्य र वातावरणसँग जोडिएको यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी पाइएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले स्थानीयबाट प्राप्त गुनासोका आधारमा अनुगमन टोली गठन गरी वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको जानकारी दिए । वातावरणीय मापदण्ड विपरीत कार्य भएको पाइएमा सम्बन्धित उद्योगलाई नियमन र कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे । स्थानीय बासिन्दाले भने दुर्गन्धका कारण बस्तीमा बस्न सक्ने अवस्था नरहेको भन्दै तत्काल प्रभावकारी अनुगमन गरी प्रदूषण रोक्न माग गरेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार