२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

चुनावको मौन अवधिमा निर्वाचन आयोगको सूक्ष्म निगरानी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २० गते बुधबार

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको छ ।

आयोगले आफैँ निगरानी गर्दै आचारसंहिताको पूर्ण पालना गरेर निर्वाचनलाई सफल पारिदिन सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ । मौन अवधिको समयमा अनावश्यक गतिविधि नगर्न अनुरोध गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हरेक राजनीतिक दलले एकअर्काको गतिविधिमा निगरानी गरेर मौन अवधिमा गर्न नहुने कार्यलाई रोक्न आग्रह गरे ।

मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने चेतावनी पनि भण्डारीले दिएका छन् । आयोगले जारी गरेको प्रतिनिधि सभा निर्वाचन आचारसंहिता, २०८२ अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन ।

शून्य समय अथवा मौन अवधिमा उम्मेदवार पनि शून्यमै बस्नुपर्ने बताउँदै भण्डारीले भने, ‘यो समयमा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउँदैनन् । बरु निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष के कस्ता प्रतिबद्धता जनाइएको छ, त्यसलाई निर्वाचनपछि कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा उम्मेदवारले योजना बनाउनुपर्छ ।’

आफू मत माग्न जाँदा मतदाताको प्रतिक्रिया कस्तो रह्यो लगायतका विषयमा पनि समीक्षा गर्ने समयका रूपमा मौन अवधिलाई सदुपयोग गर्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगले सोमबार मौन अवधिमा आचारसंहिता परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार आफ्नो जिल्लाभित्र निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न निर्देशन दिइएको छ ।

आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरणसमेत तोकेको छ । जसअनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्नहुँदैन ।

आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको छ । आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार