२०८३ साउन ३ , आइतबार 19, July 2026, Sunday
विचार

झोलेको अर्थ ‘आँखा चिम्लेर गलत र अन्याय स्वीकार्नु हो’

जबसम्म नागरिक झोलाबाट बाहिर निस्कँदैनन्, तबसम्म नेता सुध्रिँदैनन् । र जबसम्म नेता सुध्रिँदैनन्, तबसम्म देशले नयाँ दिशा पाउँदैन ।
रुपेश चौलागाईरुपेश चौलागाई । काठमाडौं । २०८२ माघ २९ गते बिहीबार

नेपालको राजनीतिक बहसमा आज ‘झोले’ शब्द पहिचान बनेको छ । यो शब्द कुनै दल विशेषका कार्यकर्ता वा समर्थकका लागि मात्र प्रयोग हुँदैन, यसले एउटा गम्भीर राजनीतिक रोगलाई जनाउँछ । झोले हुनुको अर्थ हो गलत देख्दा पनि आँखा चिम्लिनु, अन्याय हुँदा पनि ताली बजाउनु र भ्रष्टाचारलाई पनि रणनीति भन्दै ठहर गर्नु । यहीँ झोले मानसिकताले आज नेपालको राजनीति जकडिएको छ र यहीँ कारण देश वर्षौँदेखि उहीँ दलदलमा फसेको छ ।

लोकतन्त्रको मूल आत्मा प्रश्न हो । तर नेपालमा प्रश्न गर्ने संस्कृतिलाई योजनाबद्ध रूपमा दबाइएको छ । यहाँ नेता प्रश्नभन्दा माथि राखिन्छन् र पार्टी विचारभन्दा ठुलो मानिन्छ । जब कुनै नेता असफल हुन्छ, झोलेहरू तुरुन्तै सक्रिय हुन्छन् । कहिले विदेशी षड्यन्त्र, कहिले परिस्थिति, कहिले विपक्षीको दोष देखाएर आफ्ना नेताको बचाउ गर्छन् । नेतृत्वले जे गरे पनि सही ठहर गर्ने यो प्रवृत्तिले नेताहरूलाई उत्तरदायी होइन, अहंकारी बनाएको छ ।

झोलेपनको सबैभन्दा खतरनाक पक्ष भनेको गलतलाई सामान्य बनाउनु हो । भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सबै पार्टी उस्तै हुन्, अरूले झन् धेरै लुटेका थिए भन्ने तर्क सुनिन्छ । यो तर्क होइन, आत्मसमर्पण हो । यसले स्पष्ट सन्देश दिन्छ, लुटे पनि हुन्छ, गलत गरे पनि हुन्छ, किनकि झोलेहरू बचाउ गर्न तयार छन् । यहीँ कारण आज ठुला भ्रष्टाचार काण्डहरू पनि केही समयको हल्ला बनेर सेलाउँछन्, दोषीहरू कारबाहीको साटो अझ शक्तिशाली बन्छन् ।

नेपाली राजनीतिमा झोले संस्कृति बिना नेतृत्व टिक्नै नसक्ने अवस्थामा पुगेको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्र छैन, निर्णय केही सीमित व्यक्तिले गर्छन्, तर ताली बजाउने भीड ठुलो छ । झोलेहरू आलोचकलाई दल विरोधी, एजेन्ट वा देशद्रोही घोषणा गर्छन् । यसले स्वस्थ बहसलाई समाप्त पार्छ र राजनीति भीडतन्त्रमा रूपान्तरण हुन्छ, जहाँ सत्य होइन, संख्या बलियो हुन्छ । युवापुस्तालाई परिवर्तनको संवाहक मानिन्छ, तर आजको यथार्थ झनै पीडादायी छ ।

ठुलो संख्यामा युवा राजनीतिक झोलामा बाँधिएका छन् । प्रश्न गर्ने ऊर्जा नाराबाजीमा सीमित छ, बहस गर्ने क्षमता गालीमा रूपान्तरण भएको छ । नेता गलत हुँदा पनि हाम्रो नेता हो भन्ने तर्कले युवालाई विवेक होइन, भक्ति सिकाइँदैछ । यस्तो पुस्ताबाट परिवर्तनको अपेक्षा गर्नु आत्मछल हो । झोलेपनले देशको भविष्यसँग प्रत्यक्ष खेलवाड गरिरहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयमा राज्य असफल हुँदा पनि प्राथमिकता सत्ता समीकरणमै सीमित छ ।

विकासका नाममा भाषण हुन्छ, तर परिणाम शून्य । झोलेहरू भने हरेक असफलतालाई पनि इतिहासकै उत्कृष्ट उपलब्धि भनेर प्रचार गर्छन् । यसले नेतृत्वलाई सुधारको दबाब होइन, ढाकछोपको सुविधा दिन्छ । लोकतन्त्र समर्थक हुनु र झोले हुनु एउटै कुरा होइन । लोकतन्त्र समर्थकले आफ्नो दललाई पनि प्रश्न गर्छ, नेतृत्वलाई पनि जवाफदेही बनाउँछ । तर झोलेहरूका लागि दल नै धर्म हो, नेता नै भगवान् हो ।

भगवान् प्रश्नभन्दा माथि हुन्छन् भन्ने सोचले नै नेपालमा राजनीतिक उत्तरदायित्व मरेको छ । चुनाव केवल अनुहार फेरिने प्रक्रिया बनेको छ, प्रणाली सुधार्ने माध्यम होइन । झोलेपन केवल राजनीतिक दलले जन्माएको समस्या होइन, यो नागरिक चेतनाको असफलता पनि हो । नागरिकले जब विवेक छोडेर भावनामा मत हाल्छ, तब झोले उत्पादन हुन्छ । सामाजिक सञ्जालमा फैलिने अफवाह, अधूरा तथ्य र भावनात्मक नाराले झोलेपनलाई झनै बलियो बनाएको छ ।

सत्यभन्दा ठुलो आवाज र तथ्यभन्दा ठुलो भीड भएको समाजमा लोकतन्त्र कमजोर हुनु स्वाभाविक हो । अब प्रश्न उठ्छ, समाधान के हो ? समाधान कुनै नयाँ दल, नयाँ नेता वा नयाँ नारा मात्र होइन । समाधान हो, झोले मानसिकताको अन्त्य । नागरिकले दलभन्दा देशलाई, नेताभन्दा सिद्धान्तलाई र नाराभन्दा परिणामलाई प्राथमिकता दिनुपर्छ । आफ्नो मनपर्ने दलले गलत गर्दा खुलेर भन्न सक्ने साहस नै वास्तविक नागरिक हो ।

झोले नहुनु भनेको तटस्थ बस्नु होइन । यो जिम्मेवार राजनीतिक सहभागिता हो । गलतलाई गलत भन्न सक्ने, सहीलाई सही भन्न सक्ने र आवश्यक परे आफ्नै धारणा परिवर्तन गर्न सक्ने क्षमता नै लोकतन्त्रको मेरुदण्ड हो । आलोचना शत्रुता होइन, सुधारको पहिलो सर्त हो भन्ने बुझाइ स्थापित नगरी नेपालमा कुनै परिवर्तन सम्भव छैन । अन्ततः झोले हुनुको अर्थ गलतलाई पनि सही भनेर हिँड्नु हो भने, सचेत नागरिक हुनुको अर्थ सत्तालाई आँखा जुधाएर प्रश्न गर्नु हो ।

देशलाई झोले होइन, विवेकशील नागरिक चाहिएको छ । जबसम्म नागरिक झोलाबाट बाहिर निस्कँदैनन्, तबसम्म नेता सुध्रिँदैनन् । र जबसम्म नेता सुध्रिँदैनन्, तबसम्म देशले नयाँ दिशा पाउँदैन । आजको लडाइँ दलहरुबीच होइन, विवेक र अन्धभक्तिबीच हो । यो लडाइँ जित्न सके मात्र नेपालले साँच्चिकै परिवर्तनको बाटो समाउन सक्छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार