२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

मध्यरातमा बालेनको रहस्यमय स्टाटस, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भावुक अभिव्यक्ति दिएका छन् । शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।

उनले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै अहिलेको परिस्थितिमा धैर्य गर्न आग्रह गरेका छन् । ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री शाहले आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका छन् । ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन,’ उनले भनेका छन् । प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएको केही घण्टाअघि मात्रै प्रतिनिधिसभा बैठकमा उनकै दल रास्वपाका सांसद मनिष झाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

सांसद झाले राज्य सञ्चालनमा सरकारले अपेक्षित ढंग पुर्याउन नसकेको टिप्पणी गर्दै सरकारको कामकारबाहीमाथि प्रश्न उठाएका थिए । सत्तारुढ दलकै सांसदबाट संसद्मा सरकारको आलोचना भएपछि प्रधानमन्त्री शाहको मध्यरातको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्रीको स्टाटसले सरकारभित्रै असन्तुष्टि बढेको हो कि बाहिर देखिएको आलोचनाभन्दा परिस्थिति फरक छ भन्ने बहसलाई थप बल दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार