२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

मतदान गर्दा मतपत्र बदर हुन नदिन कसरी लगाउने छाप ?

प्रतिनिधिसभा निर्वाचन नकिँदै जाँदा निर्वाचन आयोग मतदाता शिक्षा सुरु गर्ने तयारीमा छ । गत निर्वाचनमा मत बदर दर उच्च रहेकाले यस पटक मतदाता शिक्षामा जोड दिन लागिएको छ । भरखरै सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि मत बदर भएका थिए । जसमा प्रदेश सभा सांसद, गाउँपालिका र नगरका अध्यक्ष तथा मेयर मतदाता थिए ।

त्यस्तै, २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मत बदर उच्च रहेको थियो । आयोगका अनुसार, पाँच प्रतिशत मत बदर भएको थियो । मतदान गर्दा कसरी मत बदर हुन्छ ? निर्वाचन आयोगले आठ कारणले मत बदर हुने जनाएको छ । जानौं, के–के हुन् ती आठ कारणहरु ?

  • दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी छाप लगाउँदा मत बदर हुन्छ । दुई चिह्नबीच दायाँ–बायाँ वा तल–माथितिर बीचको रेखामा छाप लगाउन हुँदैन ।
  • एकभन्दा बढी चुनाव चिह्नमा मत दिँदा पनि बदर हुन्छ। एक जनाले एउटै चिह्नमा मतदान गर्नुपर्छ ।
  • स्वस्तिक छाप नबुझिने गरी छाप लगाउँदा मत बदर हुन्छ । एक पटक छाप लगाएपछि राम्ररी नदेखिएको भनेर दोस्रो पटक छाप लगाउनुहुँदैन ।
  • चार वटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी छाप लगाउँदा पनि मत बदर हुन्छ । एउटा चुनाव चिह्न रहेको कोठाभित्र पर्ने गरी मात्रै छाप लगाउनुपर्छ ।
  • मतपत्रमा स्वस्तिक छापको सट्टा औँठाछाप वा अन्य छाप लगाउँदा वा तथा संकेत गर्दा पनि मत बदर हुन्छ । त्यसैले, स्वस्तिक छाप बाहेक अन्य छाप लगाउने वा संकेत गर्नुहुँदैन ।
  • कोठा बाहिर छाप लगाउँदा पनि मत बदर हुन्छ । त्यसैले, कोठाभित्र मात्रै छाप लगाउनुपर्छ ।
  • मतपत्र च्यातिएको भए पनि मत बदर हुन्छ । त्यसैले मतपत्र च्यात्नुहुँदैन, जतन गरेर मतपेटिकामा हाल्नुपर्छ ।
  • मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा पनि मत बदर हुन्छ । त्यसैले मतदान गर्नुअघि मतपत्रमा हस्ताक्षर भए वा नभएको ख्याल गर्नुपर्छ ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार