२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

कर्णालीमा बढ्दो मानसिक स्वास्थ्य समस्या

नसर्ने रोगहरुमध्ये मानसिक स्वास्थ्य समस्या कर्णाली प्रदेशका लागि चुनौती बनेको छ । कर्णाली प्रदेश अस्पतालमा उपचार २० बर्षमुनिका बालबालिका, किशोरकिशोरीमध्ये अधिकांशमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले २० वर्षमुनिका ९८५ बालबालिकामा नसर्ने रोग देखिएको जानकारी दिए ।

बिहीबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको गरेको बालबालिका तथा किशोर–किशोरी मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवाला निकायसँगको समन्वय बैठकमा उनले सानै उमेरमा नसर्ने रोग पुष्टि भएका अधिकांश बालबालिकामा मानसिक समस्या पाइएको बताए ।

डा.समदर्शीका अनुसार अहिले दैनिकजसो ८ देखि १० जना बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने गरेका छन् । ‘यो तथ्याङ्कले भविष्यमा घरघरमै मानसिक समस्या भएका व्यक्ति हुन सक्छन्, समयमै सचेत हुनुपर्छ,’ उनले भने । बालबालिकाको तनाव बुझ्न नसक्दा यसको असर विद्यालय तहमा समेत परेको डा.समदर्शीको भनाइ छ ।

तनाव र उदासिनताका कारण पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा लागुऔषध दुव्र्यसन बढ्दै गएको उनले बताए । ‘लागुऔषधलाई उपचारात्मक भन्दा अपराधीकरण गर्ने प्रवृत्तिले मानसिक समस्या झन् बढेको देखिन्छ,’ उनी भन्छन्, ‘लागुऔषध प्रयोगको सुरुआती कारणसम्म पुगिएको छैन, सचेतनाको पाटो कमजोर छ ।’

उनका अनुसार बालबालिकामा भएको तनाव बुझ्ने माध्यम नहुँदा लागुऔषधको जोखिम बढ्दै गएको छ । लागुऔषध प्रयोग र मानसिक समस्याका विषयमा भइरहेको सतही अध्ययनले समस्या समाधान नहुने बताउँदै उनले सेवाप्रदायक संस्था, जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

मानसिक स्वास्थ्य समस्याका कारण बालबालिका र वयस्कमा आत्महत्याको प्रयास पनि बढेको उनको ठहर छ । मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सिएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेका अनुसार कर्णालीमा मानसिक स्वास्थ्य समस्या प्रमुख चुनौतीका रुपमा देखा पर्दै गएको बताए ।

सिएमसीले कर्णालीका विभिन्न जिल्लामा सञ्चालन गरेका मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रममार्फत सेवा लिएकाहरुको तथ्यांक डरलाग्दो रहेको उनले बताए । उनका अनुसार सुर्खेतका चार पालिकाका एक हजार ५२६ जनाले मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् । जसमध्ये १२६ जनाले टेलिमेडिसिनमार्फत सेवा लिएका छन् ।

सिएमसी नेपालले कर्णालीका ६ जिल्लामा सञ्चालन गरेका कार्यक्रमबाट मानसिक स्वास्थ्य नीतिगत कमजोरीका कारण ओझेलमा परेको निश्कर्ष निकालेको छ । प्रदेश संयोजक हिमाल गैरेका अनुसार विद्यालय तहमा बालबालिका तथा किशोरकिशोरीको मानसिक समस्या पहिचान, रोकथाम र व्यवस्थापनका लागि स्पष्ट नीति अभाव रहेको संस्थाको निश्कर्ष छ ।

नियमित अनुगमन, तथ्याङ्क संकलन र गुणस्तर मुल्याङ्कन नहुँदा कार्यक्रम प्रभावकारी बन्न नसकेको प्रदेश संयोजक गैरेले बताए । तालिमप्राप्त जनशक्तिको उच्च पलायन र मनोसामाजिक परामर्शदाता तथा फोकल पर्सनको निरन्तरता नहुँदा यससम्बन्धि सेवाप्रवाहको काम प्रभावित भएको उनले बताए ।

 

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार