२०८३ असोज २४ , शनिबार 11, October 2026, Sunday

बाँकेमा मातृ मृत्युदर बढ्दो, अन्धविश्वास र भ्रम धेरै

नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा बब्लु कबोडियाको घरअगाडि दुई नाबालक छोरी खटियाको वरिपरि खेलिरहेका छन् । घरबाट पाँच मिनेटको दूरीमा स्वास्थ्यचौकी छ, जहाँ गर्भजाँचदेखि सुत्केरीसम्मका सबै सेवा निःशुल्क छन् । तर यही घरकी समसा ती सेवासम्म कहिल्यै पुगिनन् । गर्भावस्थाको आठौँ महिनामा अत्यधिक रक्तस्राव भएपछि अस्पताल लगिँदा आमा र शिशु दुवैको ज्यान गयो । समसाको मृत्यु कुनै अपवाद होइन ।

पछिल्ला चार महिनामै बाँकेमा आठ आमाले गर्भावस्थामै ज्यान गुमाएका छन् । सडक, यातायात र ठूला अस्पतालको पहुँच रहेको लुम्बिनी प्रदेश अहिले मातृमृत्युको केन्द्र बन्दै गएको छ । देशभर हुने मातृमृत्युमध्ये झन्डै तेस्रो हिस्सा यही प्रदेशमा हुनु संयोग मात्रै होइन । खोज्दा देखिन्छ, यहाँ समस्या स्वास्थ्य सेवा अभाव होइन, महिलाको पहुँच अभाव हो । मुस्लिम, मधेशी र दलित समुदायको बाहुल्यता रहेका सीमावर्ती गाउँमा गर्भावस्था अझै पनि महिलाको निजी स्वास्थ्यभन्दा ‘घरभित्रको विषय’ मानिन्छ ।

अस्पताल जाने निर्णय महिलाले आफैँ गर्न सक्दैनन् । जानकी गाउँपालिकामा १८ वर्षदेखि काम गरिरहेकी स्वास्थ्य स्वयंसेविका गंगा पुन भन्छिन्, ‘गर्भवती महिलालाई पेट दुखे पनि पहिले श्रीमानलाई सोध्नुपर्छ । अस्पताल जानु उनीहरूका लागि अन्तिम विकल्प मात्रै हुन्छ ।’ वडा नम्बर ५ ले वडाको बजेटबाट क्यालसियम औषधि निःशुल्क वितरण सुरु गरेपछि भने स्वास्थ्य संस्थामा आउने महिलाको संख्या बढेको छ ।

‘आइरन खायो भने अपरेसन हुन्छ’ भन्ने भ्रम

यस क्षेत्रमा फैलिएको अन्धविश्वास झन् खतरनाक देखिन्छ । गर्भावस्थामा आइरन चक्की खाए बच्चा ठूलो हुन्छ र अपरेसन गर्नुपर्छ भन्ने भ्रम गहिरो छ । यही कारण महिलाहरू रक्तअल्पताबाट ग्रसित हुँदै जान्छन् । नरैनापुर–१ स्वास्थ्य चौकीकी अनमी सामना क्षेत्री गुरुङ भन्छिन्, ‘हामी आइरन चक्की दिन जाँदा कतिपय घरमा ढोका नै बन्द गरिन्छ ।’

उनका अनुसार पुरुषहरू चक्की खुवायो भने बच्चा ठूलो हुन्छ, अपरेसन गर्नुपर्छ, अनि परपुरुष डाक्टरले गोप्य अंग हेर्छन् भन्ने भ्रम फिजाउँछन् । ‘यही डरले महिलालाई अस्पताल लैजान दिइँदैन । मलाई लाग्छ, यहाँ धेरै महिलाको मृत्यु रोगले होइन, गलत मान्यताले भइरहेको छ,’ उनले भनिन् । उनका अनुसार ‘परपुरुषले छुनु हुँदैन’ भन्ने सोचका कारण घरमै सुत्केरी गराउने चलन अझै बलियो छ । तर जटिलता आएपछि ती महिलाले केही गर्न सक्दैनन् ।

ढिलो अस्पताल, ढिलो उपचार

जानकी गाउँपालिकाको साइगाउँ बर्थिङ सेन्टरकी अनमी माया बस्याल भन्छिन्, ‘घरमै सम्भव नभएपछि मात्रै बर्थिङ सेन्टर ल्याइन्छ । यहाँबाट अस्पताल रेफर गर्दा धेरै ढिलो भइसकेको हुन्छ ।’ भेरी अस्पतालको प्रसूति गृहमा पुग्ने अधिकांश सुत्केरी महिलाको अवस्था गम्भीर हुने गरेको अस्पताल स्रोत बताउँछ । रक्तअल्पता, उच्च रक्तचाप र अत्यधिक रक्तस्रावका कारण उनीहरू अस्पताल ल्याइँदा बचाउने समय सकिइसकेको हुन्छ ।

अस्पतालमै मृत्युले उठायो प्रश्न

भेरी अस्पतालमै सीमा धोबीको मृत्युले स्वास्थ्य प्रणालीमाथि थप प्रश्न उठाएको छ । नियमित जाँच गराएकी र आइरन खाएकी सीमा अस्पतालमै सुत्केरी भएकी थिइन् । तर शय्या अभाव, ढिलाइ र व्यवस्थापन कमजोरीका कारण उनको ज्यान जोगिएन । भेरी अस्पतालकी लेबर रुम इञ्चार्ज शिला शर्मा भन्छिन्, ‘हामीकहाँ आउने धेरै केस अन्तिम अवस्थामा हुन्छन् । रक्तअल्पता भएको, धेरै रगत बगिसकेको अवस्थामा ल्याइन्छ । यस्तो बेला सबै प्रयास गर्दा पनि सबैलाई बचाउन सम्भव हुँदैन ।’

किन लुम्बिनीमै बढी मातृ मृत्युदर ?

स्वास्थ्यकर्मीका अनुसार लुम्बिनी प्रदेशमा गर्भवती महिलामध्ये ठूलो हिस्सा रक्तअल्पताबाट पीडित छन् । यही कारण सुत्केरीपछि अत्यधिक रक्तस्राव भई मृत्यु हुने सम्भावना बढेको छ । दुर्गम कर्णाली प्रदेशभन्दा पनि यहाँ मातृमृत्यु दर बढी हुनु चिन्ताजनक तथ्य हो । दशकौँदेखि चलेका सामुदायिक सचेतना कार्यक्रम पछिल्लो समय कमजोर बन्दै गएका छन् ।

यूएसएडजस्ता दातृ निकायको सहयोग कटौती भएपछि घरघर पुगेर चेतना फैलाउने काम प्रभावित भएको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द भन्छन्, ‘पछिल्ला चार महिनाको तथ्यांक निकै गम्भीर छ । अन्तर्राष्ट्रिय सहयोग घटेको अवस्थामा स्थानीय सरकारले थप चासो दिनुपर्ने हो, तर त्यो देखिँदैन ।’

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार