विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पछिल्लो समय भारतमा देखिएको निपाह भाइरसको सङ्क्रमण र यसको जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक गरेको छ । जनावरबाट मानिसमा सर्ने यो दुर्लभ र खतरनाक भाइरसका कारण ४० देखि ७५ प्रतिशतसम्म बिरामीको मृत्यु हुनसक्ने भए पनि यसका विरुद्ध अहिलेसम्म कुनै आधिकारिक खोप वा उपचार उपलब्ध छैन ।
मुख्यतः फलफूल खाने चमेरो (फ्रुट ब्याट)बाट सर्ने यो भाइरस भारतका विभिन्न राज्यहरूमा मौसमी रूपमा देखिँदै आएको छ । भारतको पश्चिम बंगालमा यो तेस्रो पटक देखिएको हो भने सन् २०१८ यता केरला राज्यमा पटक–पटक यसका लहरहरू देखिएका छन् । डब्लुएचओका अनुसार भारतमा विशेष गरी काँचो खजुरको रस सेवन गर्ने र चमेरोको चहलपहल बढी हुने डिसेम्बरदेखि मे महिनासम्म यसको जोखिम उच्च रहन्छ ।
सुरुवाती लक्षणहरू सामान्य हुने भएकाले समयमै रोग पहिचान गर्न कठिन हुनु र विशिष्ट औषधि नहुनुले यसको जोखिमलाई थप चुनौतीपूर्ण बनाएको छ । भारतमा सङ्क्रमण देखिए पनि नेपाल लगायतका छिमेकी मुलुकहरूका लागि भने डब्लुएचओले यसको क्षेत्रीय जोखिम न्यून रहेको जनाएको छ । अहिलेसम्म यो भाइरस सीमा पार गरेर अर्को देशमा पुगेको आधिकारिक तथ्य फेला परेको छैन ।
यद्यपि, चमेरोहरूको ओहोरदोहोर हुने साझा प्राकृतिक करिडोर र विगतको संक्रमणको इतिहासका कारण जोखिम भने पूर्ण रूपमा टरेको छैन । मानिसबाट मानिसमा समेत सर्न सक्ने यो भाइरस अस्पताल वा घरमा बिरामीको हेरचाह गर्दा र उनीहरूको शारीरिक तरल पदार्थको सम्पर्कमा आउँदा फैलन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ ।
हालसम्म भारतबाहिर यो सङ्क्रमण नफैलिएका कारण विश्वव्यापी रूपमा यसको जोखिम न्यून रहेको मूल्याङ्कन गरिएको छ । भारतले आफ्ना केन्द्रीय र राज्यस्तरका द्रुत प्रतिकार्य टोलीहरू (आरआरटी)मार्फत सङ्क्रमण नियन्त्रण र परीक्षण क्षमतामा सुधार गरेकाले पनि क्षेत्रीय स्तरमा ठूलो खतरा नदेखिएको डब्लुएचओको ठहर छ । तैपनि प्रारम्भिक निदानमा हुने ढिलाइले प्रकोप नियन्त्रणमा बाधा पुर्याउन सक्ने भएकाले स्वास्थ्य संस्थाहरूमा सङ्क्रमण रोकथामका उपायहरू कडाइका साथ लागू गर्न सुझाइएको छ ।

सत्यपाटी