२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

खानेपानी आयोजनामा लुट, कामै नगरी लाखौँ निकासा

कैलाश माझी
कैलाश माझी । सप्तरी

खानेपानी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो । तर सप्तरीको सप्तकोशी नगरपालिका अन्तरगत सञ्चालनमा रहेको सप्तकोशी सहरी खानेपानी आयोजना अहिले सेवा प्रवाहको उदाहरण होइन, बरु भ्रष्टाचार, अनियमितता र गैरजिम्मेवारीको गम्भीर विवादमा तानिएको आयोजना बनेको छ ।

फत्तेपुरस्थित जुटपानी क्षेत्रमा माटो परीक्षणको नाममा कुनै काम नगरी करिब चार लाख ४४ हजार रुपैयाँ भुक्तानी निकासा गरिएको तथ्य सार्वजनिक भएपछि आयोजना नै प्रश्नको घेरामा परेको हो । स्रोतका अनुसार माटो परीक्षणसम्बन्धी कुनै भौतिक काम नभएको अवस्थामा पनि प्रक्रिया पुर्याएर रकम निकासा गरिएको देखिएको छ, जुन आर्थिक अनुशासन र सार्वजनिक खरिद नियमावलीको स्पष्ट उल्लङ्घन हो ।

अध्यक्षको स्वीकारोक्ति, सचिवको पन्छिने प्रयास

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष लेखनाथ घिमिरेले उक्त भुक्तानी प्रक्रिया भएको तथ्य स्वीकार गरिसक्नुभएको छ । तर आयोजनाका सचिव रमेश कार्कीले भने उक्त कार्य आफूहरूको प्रत्यक्ष मातहतमा नरहेको दाबी गर्दै सम्पूर्ण दोष ठेकेदार राजिब राउतमाथि थुपार्ने प्रयास गरेका छन् ।

यता ठेकेदार पक्षले भने समितिकै निर्देशन र स्वीकृत प्रक्रियाअनुसार काम अगाडि बढाइएको दाबी गर्दै आएको छ । यसले आयोजनाभित्र जिम्मेवारी एक–अर्कामाथि थोपर्ने, तर जवाफदेहिता कसैले नलिने प्रवृत्ति उजागर गरेको छ ।

काम बिना भुक्तानीमा गम्भीर प्रश्नहरू

काम नगरी रकम निकासा हुनु सामान्य प्रशासनिक कमजोरी मात्र नभई संभावित भ्रष्टाचारको स्पष्ट संकेत मानिन्छ । यस घटनाले गम्भीर प्रश्नहरू उठाएको छ, काम नभएको अवस्थामा बिल कसरी प्रमाणित गरियो ?

भुक्तानी सिफारिस र स्वीकृति कसको हस्ताक्षरमा भयो ? निगरानी संयन्त्र किन मौन बस्यो ? सार्वजनिक कोषबाट खर्च हुने बजेटमा यसरी कागज मिलाएर रकम निकालिनु ले आयोजना भित्र संस्थागत अनियमितता मौलाउँदै गएको संकेत गर्छ ।

करोडौँ बजेट, लाखौँको अनियमितता

स्रोतका अनुसार सप्तकोशी सहरी खानेपानी आयोजना करिब ४९ करोड रुपैयाँको बजेट भएको बहुवर्षीय आयोजना हो । माटो परीक्षण प्रकरण केवल एक उदाहरण मात्र भएको बताइन्छ । यही शैलीमा अन्य शीर्षकमा पनि अनियमितता भएको आशंका स्थानीय तहमा व्यापक रूपमा उठ्न थालेको छ ।

खानेपानी जस्तो संवेदनशील क्षेत्रमा हुने यस्तो लापरवाहीले जनताको विश्वास मात्र होइन, स्वास्थ्य र जीवनसमेत जोखिममा पार्ने विज्ञहरूको भनाइ छ । आयोजना सफल नहुँदा सर्वसाधारण नागरिकले स्वच्छ खानेपानीबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन्छ ।

निगरानी र कारबाहीको माग

स्थानीयवासी र सरोकारवालाहरूले सहरी खानेपानी आयोजनामा भएको भनिएको अनियमितताको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । यदि यस्ता घटनालाई समयमै नियन्त्रण नगरिए, सार्वजनिक विकास आयोजना लुटको माध्यम बन्ने खतरा बढ्ने उनीहरूको चेतावनी छ । सप्तकोशी सहरी खानेपानी आयोजना अहिले सेवा प्रवाहभन्दा बढी विवाद, आरोप र अविश्वासको केन्द्र बन्दै गएको छ ।

कामै नगरी लाखौँ रुपैयाँ भुक्तानी हुनु, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र दोष एक–अर्कामाथि थोपर्ने शैलीले सार्वजनिक संस्थाको जवाफदेहिता माथि गम्भीर प्रश्न खडा गरेको छ । खानेपानी जनताको अधिकार हो, कसैको कमाइको माध्यम होइन । यदि यस्ता अनियमिततामाथि समयमै कडा कदम चालिएन भने, भ्रष्टाचारले जनताको प्यास मेटाउने होइन, अझ गहिरो बनाउनेछ ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार