नेपाली कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले पार्टीको नियम उलंघन गरेको भन्दै पार्टीले कारबाहीको विज्ञप्ती निकाल्नुले एउटा सत्य उजागर गरेको छ, पार्टी नेतृत्व आफैँ असफल भएको छ, तर दोष कार्यकर्तालाई थोपर्ने प्रयास गरिँदैछ । राजनीतिक कार्यकर्ता कुनै बन्धक होइनन्, न त कुनै जागिरका कर्मचारी । उनीहरू विचार, विश्वास र आस्थाले पार्टीमा जोडिन्छन् । जब पार्टी विचारहीन, नेतृत्व केन्द्रित, गुटबन्दीग्रस्त र जनविमुख बन्छ, तब कार्यकर्ता बाहिरिनु अपराध होइन स्वाभाविक परिणाम हो ।
आज प्रश्न यो होइन कि कसले पार्टी छोड्यो ?, आजको प्रश्न त पार्टी किन छोड्नुपर्ने अवस्था आयो ? भन्ने हो । पार्टीभित्र न बहस छ, न आलोचनाको स्थान । नेतृत्व सधैँ सही, कार्यकर्ता सधैँ दोषी भन्ने मानसिकताले संगठन चल्न सक्दैन । असन्तुष्ट आवाजलाई कारबाहीको हतियारले दबाउने शैली निरङ्कुश सोचको परिचायक हो, कम्युनिष्ट मूल्यको होइन । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कार्यकर्ता आकर्षित हुनु संयोग होइन । यो आकर्षण पुराना दलप्रतिको वितृष्णा, झुट्टा प्रतिबद्धता, सत्ता–केन्द्रित राजनीति र नैतिक पतनको प्रत्यक्ष प्रतिक्रिया हो ।
तर नेतृत्वले यो यथार्थ स्वीकार्ने साहस देखाएन, उल्टै कारबाहीको भाषा बोल्यो । जनताले नपत्याएको नेतृत्वसँग किन कार्यकर्ताले जीवन बाँधीरहने ? इतिहासले बारम्बार देखाइसकेको छ, कारबाहीले विचार बच्दैन, डरले संगठन बलियो हुँदैन, सुधारले मात्र पार्टी जोगिन्छ । यदि कम्युनिष्ट पार्टी साँच्चै परिवर्तनको शक्ति हो भने, उसले पहिले आफ्नै नेतृत्व, संस्कार र कार्यशैलीमाथि कारबाही गर्नुपथ्र्यो । तर यहाँ सजिलो बाटो रोजियो कमजोरी लुकाउन कार्यकर्तामाथि प्रहार ?
आज कारबाही गरिएको कार्यकर्तामाथि होइन, कारबाही त पार्टीको विश्वसनीयता, नैतिकता र भविष्यमा परेको छ । जनताको समर्थन घट्दै जाँदा पनि चेत नखुल्ने नेतृत्वलाई इतिहासले माफ गर्दैन । परिवर्तन चाहने कार्यकर्तालाई दण्ड दिने होइन, सुनिने संस्कार विकास नगरेसम्म कम्युनिस्ट पार्टीको पतन रोकिने छैन । कारबाहीको विज्ञप्ती शक्ति होइन । डर, असफलता र विचारहीनताको स्वीकारोक्ति हो । नेपाली कम्युनिष्ट पार्टीले केही कार्यकर्ता पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि कारबाही गरेको विज्ञप्ती निकाल्नु कुनै अनुशासनको उदाहरण होइन, यो त असफल नेतृत्वले आफ्नो नाङ्गोपन छोप्न बजाएको ढोल मात्र हो ।
कार्यकर्ता किन बाहिरिए ? यो प्रश्नको उत्तर खोज्ने आँट नेतृत्वसँग छैन । किनकि उत्तर एउटै छ, पार्टी विचारले मरेको छ, संगठन गुटले खाएको छ, र नेतृत्व अहंकारमा डुबेको छ । आज कम्युनिष्ट पार्टीमा बहस छैन, आलोचना अपराध बनेको छ, र प्रश्न गर्नेहरू ‘विद्रोही’ ठहरिन्छन् । नेतृत्वका गल्ती पवित्र, कार्यकर्ताको असन्तुष्टि देशद्रोह, यस्तो मानसिकताले कुनै पार्टी होइन, केवल सत्ताको गिरोह चल्छ । कारबाहीको सूची सार्वजनिक गरेर नेतृत्वले देखाउन खोजेको के हो ? डर ? दम्भ ? कि आफ्नो असुरक्षा ? कम्युनिष्ट आन्दोलनको नाम बेचेर सत्ता, सुविधा र सौदाबाजीमा लिप्त नेतृत्वले आज आफ्नै कार्यकर्तालाई दुश्मन ठानेको छ ।
यो विडम्बना होइन, नैतिक दिवालियापन हो । इतिहासले स्पष्ट भनिसकेको छ, कारबाहीले आन्दोलन जोगिँदैन । धम्कीले विश्वास फर्किँदैन । अहंकारले पार्टी बच्दैन । आज कारबाही कार्यकर्तामाथि भएको छैन । कारबाही त कम्युनिष्ट पार्टीको भविष्य, विश्वसनीयता र नैतिक धरातलमाथि भएको छ । यदि यही शैली चलिरह्यो भने पार्टीबाट कार्यकर्ता मात्र होइन, इतिहास पनि हात झिकेर बाहिरिनेछ । अनि बाँकी रहनेछ, केही पद, केही कुर्सी । नाम बदल्दा क्रान्ति, कार्यकर्ता बदल्दा अपराध ? प्रचण्डले आफ्नो राजनीतिक जीवनमा पार्टीको नाम कति पटक फेरे ?
माओवादी, एकीकृत, केन्द्र, महाएकता, फेरि छुट्टै नाम, झण्डा र चुनाव चिन्ह बदलिँदा कहिल्यै ‘अनुशासन भंग’ भएन । तर आज कुनै सामान्य कार्यकर्ताले पार्टी बदलेपछि भने अचानक कम्युनिस्ट नैतिकता जाग्छ, कारबाहीको बन्दुक तेर्सिन्छ । यो कुन खाले राजनीति हो ? यदि पार्टी परिवर्तन गर्नु अपराध हो भने, सबैभन्दा पहिले कठघरामा उभिनुपर्ने व्यक्ति प्रचण्ड स्वयं हुन् । पार्टीको नाम, विचार र निसाना मेटाउँदा ‘रणनीति’ भन्ने, कार्यकर्ताले विकल्प रोज्दा ‘द्रोह’ ? यो दोहोरो मापदण्ड होइन भने के हो ? आज नेतृत्व खुलेआम भन्छ, ‘पार्टीको निसाना मेटाउन खोजियो, त्यसैले कारबाही गरियो ।’
मेरो प्रश्न, पार्टीको निसाना कसले मेटायो ? कार्यकर्ताले कि बारम्बार सत्ता खातिर नाम बेच्ने नेतृत्वले ? कार्यकर्ताले पार्टी छोड्नु भनेको निसाना मेटाउनु होइन, निसाना त नेतृत्वले जनविश्वासबाटै मेटाइसकेको हो । यदि पार्टी परिवर्तन गर्नु नै यति ठूलो अपराध हो भने, प्रचण्डले किन आफैंमाथि कारबाही गरेनन् ? किन आफूले बनाएका, तोडेका, फेरि बनाएका पार्टीहरूका लागि माफी मागेनन् ? आज कारबाही गरेर देखाउन खोजिँदैछ, ‘सानालाई ऐन ठूलालाई चैन’ । ‘हामी अझै शक्तिशाली छौँ ।’ तर सत्य के हो भने, यो शक्ति होइन, असुरक्षा हो । यो आत्मविश्वास होइन, डर हो ।
कार्यकर्ताले पार्टी बदलेको देखेर आत्तिनु, कारबाहीको विज्ञप्ती निकाल्नु, निसानाको नाममा धम्की दिनु, यी सबै पतनको लक्षण हुन्, नेतृत्वको कमजोरीका संकेत हुन् । कम्युनिष्ट आन्दोलन कुनै व्यक्तिको निजी कम्पनी होइन, जहाँ मालिकले ब्रान्ड फेरोस्, तर कामदारले जागिर बदल्न नपाओस् । आज कारबाही गरिएका कार्यकर्तालाई इतिहासले दोषी ठहराउने छैन । दोषी ठहरिनेछ त्यो नेतृत्व, जसले पार्टीलाई विचारबाट होइन, सत्ता र सौदाबाजीबाट चलायो । नेतृत्वका लागि अन्तिम प्रश्न, यदि पार्टी परिवर्तन गर्नु अपराध हो भने, पहिलो अभियुक्त प्रचण्ड हुनुपर्छ । नत्र, कार्यकर्तामाथिको कारबाही होइन, नेतृत्वको नैतिकता नै कारबाहीमा परेको छ । धन्यवाद ।।
