२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday
हाम्रो स्वास्थ्य

बालबालिकालाई कसरी हुन्छ ग्यास्ट्रिक ?

बालबालिकामा ग्यास्ट्रिक प्रायः ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण, चिल्लोपिरो तथा जंकफुड सेवन र पेनकिलरको प्रयोगका कारण हुन्छ । समयमै उपचार नगरे गम्भीर समस्या निम्तिन सक्छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १७ गते शनिबार

सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्छ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जंकफुड खाने गर्छन् तब ‘ग्यास्ट्रिक’ हुन्छ ।

‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा सुमित अग्रवालले जानकारी दिए । वयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्छ ।

बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता आउने, पेट फुल्नेजस्ता समस्या देखा पर्छ । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ ।

समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने, पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने, सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने डा अग्रवाल बताउँछन् । उनका अनुसार कान्ति अस्पतालमा दिनमा दुई–तीन जना ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्दछन् ।

यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा एक–दुई जना अस्पताल आउने गरेका छन् । डा अग्रवालले हप्तामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताए । शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्रिक भनिन्छ ।

उनका अनुसार सामान्यता १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्छ । एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सात–आठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । डा अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार