२०८३ भदौ २४ , बुधबार 10, September 2026, Thursday

निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी, के-के छन् सुविधा ?

फागुन २१ गते हुने निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले दुई लाखभन्दा बढी कर्मचारी खटाउने भएको छ । चुनाव तयारी गरिरहेको आयोगले कर्मचारी खटनपटनको तारतम्य मिलाउँदैछ । आयोगका अनुसार मतदान केन्द्रसहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन व्यवस्थापनका लागि कुल दुई लाख १३ हजार कर्मचारी खटाइनेछ ।

आयोगले केन्द्रीय कार्यालयसहित प्रत्येक जिल्लामा गरेर ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७० वटा जिल्ला निर्वाचन कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको कार्य भइरहेको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामान्यतया जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्यायसेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहको कर्मचारीको नेतृत्वमा कर्मचारी खटाउने व्यवस्था छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाउँछ ।

अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र छन् । ती सबै ठाउँमा आयोगले कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाँच सयजनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित आठजना कर्मचारी खटिन्छन् ।

त्यस्तै, पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीनजना स्वयंसेवकसहित नौ कर्मचारी खटिन्छन् । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित पाँचजना खटाउने व्यवस्था छ ।

सात प्रदेश निर्वाचन कार्यालय र ७० जिल्ला निर्वाचन कार्यालयमा कर्मचारी दरबन्दी नै छ । यसबाहेकमा भने कर्मचारी खटनपटन गर्नुपर्छ । आयोगले आफूअन्तर्गत कायम नियमित दरबन्दीमा कार्यरतबाहेक अतिरिक्त कर्मचारीसमेतलाई व्यवस्थापन गरिरहेको छ ।

कर्मचारीलाई भत्तादेखि बिमासम्म

निर्वाचनमा खटिने कर्मचारीका लागि विभिन्न सुविधा हुन्छन् । आयोगले ती कर्मचारीलाई भत्तादेखि बिमासम्मका सुविधा उपलब्ध गराउँछ । निर्वाचन आयोग, आयोगमातहतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलबस्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधाको व्यवस्था छ ।

अतिरिक्त समयमा काम गरेकोमा खाजा–खाना खर्चसहितको सुविधा ती कर्मचारीका लागि हुन्छ । मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्ताको समेत व्यवस्था छ । मतदान अधिकृतलाई दुई हजार ५००, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६०० तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार २०० रुपैयाँ दैनिक भत्ताको व्यवस्था छ ।

निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमासमेत गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनको चालू खर्चमा सम्बन्धित ४८ वटा काम भइरहेका छन् । यिनका लागि ६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । कर्मचारी सुविधाबारे प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ ले व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार