२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

सिरक-डस्ना बिक्री नभएपछि परिवार पाल्नै समस्या

जुनु भट्टराईजुनु भट्टराई । विराटनगर । २०८२ माघ ७ गते बुधबार

माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन् ।

यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका थिए । गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उनले बताए । ५४ वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक ४०० देखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो ।

पहिलेपहिले एकै दिनमा आठ–दश वटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उनले भने, ‘बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।’ इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताए ।

बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौ वर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उनले बताए । ‘यो मसँगै काम गर्दै आएको थियो,’ छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भने, ‘तर अब यसलाई धुनियाको काममा राख्दिनँ । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइदिन्छु, जसले सधैँ धेरथोर कमाइ गरिरहोस् ।’

जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् । विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् ।

बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुना साथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको छ । ‘पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो,’ अग्रवाल भन्छन्, ‘अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुँदैन । गत वर्ष मङ्सिरको दोस्रो हप्तादेखि नै माग आउँथ्यो, यसपालि त माघ लागिसक्यो, एउटा पनि माग आएको छैन ।’

उनका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ । महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताए ।

‘पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउँथे,’ उनले भने, ‘अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधैँ भीडभाड हुन्थ्यो ।’ शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने उनको दाबी छ ।

‘हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ,’ शाहले भने । ‘सिरक–डस्ना कपडाजस्तो बर्सेनि फेर्ने सामान होइन । त्यसैले बनाउँदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।’ उनका अनुसार एउटा सिरक बनाउन चारपाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहना अनुसार कम–बढी गरेर पनि बनाइन्छ ।

व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु एक हजारदेखि आठ हजारसम्म पर्छ भने डस्नाको मूल्य रु ६०० देखि चार–पाँच हजारसम्म पर्छ । माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार