२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

महिला ‘भलमन्सा’ राजकुमारीको सङ्घर्षपूर्ण कथा

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ माघ ६ गते मंगलबार

कैलालीको घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार ‘भलमन्सा’ चुनिनुभएको पाँच वर्ष पूरा भएको छ । थारु समुदायले हरेक वर्षको माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चुन्ने गर्छन् । पुरुषप्रधान समाजमा महिलाले नेतृत्व लिनु सजिलो छैन । थारु गाउँमा धेरैजसो भलमन्सा पुरुष हुने गर्छन् । महिला भलमन्सा भएकै कारण राजकुमारीले धेरै अपमान सहनुपर्यो ।

गाउँलेले भलमन्सा चुनेपछि राजकुमारीका लागि काम गर्न पक्कै सहज थिएन । घरको काम पनि गर्नुपर्ने, बाहिर गाउँका समस्या समाधान गर्न पनि हिँड्नुपर्ने दोहोरो जिम्मेवारी थियो । ‘घरभित्र र बाहिरको काम सँगसँगै गर्दा धेरै समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘भलमन्सा बनेपछि केही पुरुषले महिला भएकै कारण हेप्ने, अपमान गर्ने गरे । महिला भएर के भलमन्सा हुन्छे ? के काम गर्न सक्छे ? भन्ने तिरस्कारपूर्ण वचन पनि सुन्नुपर्यो ।’

अपमानमा मात्र सीमित रहेन, ज्यानै मार्नेसम्मको धम्की आयो । कलह र झगडा पनि भयो । तर ती सबै कुरालाई बेवास्ता गर्दै उनी रोकिइनन् । गाउँका झगडा मिलाउन, समस्या समाधान गर्न दिनरात खटिनुभयो । परिवारको साथ र सहयोगले उनलाई जिम्मेवारी सम्हाल्न सहज भयो । औपचारिक शिक्षाबाट समेत वञ्चित राजकुमारी भन्छिन्, ‘एक कक्षा पनि पढ्न पाइनँ, छोरीलाई पढाउन हुँदैन भन्ने सोचका कारण माइतमा पनि मलाई विद्यालय पठाइएन ।’

एक जना शिक्षकले ‘स्कुल पठाइदिनुहोस्, निःशुल्क पढाउँछु’ भनेर आग्रह गर्दा पनि बाजेले पढ्न नपठाएको बाल्यकालको घटना उनले अझै बिर्सिएकी छैनन् । सुरुसुरुमा आफ्नो नाम भन्नसमेत उनलाई कठिन हुन्थ्यो । बोल्न डर लाग्थ्यो । तर समयसँगै आत्मविश्वास बढ्दै गयो । भलमन्सा छनोटका लागि सुरुमा उनका श्रीमान्लाई प्रस्ताव गरिएको थियो । ‘तपाईँ भलमन्सा बन्नुहोस्, काम म गर्छु,’ भनेर दुई वर्षसम्म श्रीमानको नाममा राजकुमारीले काम गरिन् ।

तेस्रो वर्षदेखि भने उनी आफैँ भलमन्सा चुनिइन् । अहिले घरमा एक्लै भएकाले जिम्मेवारी सम्हाल्न गाह्रो भएकाले भलमन्सा नदोहोर्याउने सोच बनाएको उनी बताउँछिन् । तर भलमन्सा भइसकेपछि उनको अनुभव र योगदान गाउँका लागि अमूल्य बनेको छ । भलमन्साको जिम्मेवारीसँगै राजकुमारीले खेतीपाती, बङ्गुुरपालनजस्ता काम पनि गर्दै आएकी छन् । समाजमा किन सधैँ महिलामाथि मात्र प्रश्न उठ्छ भन्ने सोचले उनलाई निरन्तर अघि बढायो ।

आज उनी आमखोइया शिविरकी भलमन्सा मात्र होइन, महिलाले पनि गाउँको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् । भलमन्साको हैसियतले राजकुमारीले गाउँका साना–ठूला विवाद समाधान गर्ने, पारिवारिक झगडा मिलाउने, सामाजिक कलह नियन्त्रण गर्ने जिम्मेवारी निभाउँदै आएकी छन् । भल्मन्सा बनेकै वर्ष उनले गाउँमा बिजुली विस्तारको माग गरिन् । जसका कारण गाउँमा विद्युत् सेवा पुगेको छ ।

सडकमा कल्भर्ट निर्माण, शौचालय निर्माण लगायतका पूर्वाधार सम्बन्धी कामहरू पनि उनको पहलमा सम्पन्न भएका छन् । कृषकका लागि बाख्रापालनजस्ता आयमूलक कार्यक्रम सञ्चालन गरिएको उनी बताउँछिन् । राजकुमारीले स्थानीय महिलालाई एकजुट बनाएकी छन् । ‘पुरुषहरू धेरै जसो रोजगारीका लागि बाहिर जान्छन्,’ उनी भन्छिन्, ‘के–के माग गर्ने भनेर हामी एकजुट हुन्छौँ र मिलेर काम पनि गर्छौं ।’

योसँगै वडा कार्यालय, नगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर गाउँका समस्या समाधानका लागि पहल गर्दै आएकी छन् । गाउँलेका गुनासा, माग र पीडा सम्बन्धित निकायसम्म पुर्याउनु उनको नियमित काम हो । उनले जात, लिङ्ग र वर्गका आधारमा हुने विभेद घटाउँदै सामाजिक एकता र सद्भाव कायम गर्न पनि भूमिका निर्वाह गर्दै आएकी छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार