नेपाली कांग्रेस नेपालको आधुनिक राजनीतिक इतिहासको केन्द्रमा रहेको दल हो । यसको स्थापना र विकास राणा शासनविरुद्धको संघर्षसँग गाँसिएको छ । वि.सं. २००३ सालमा स्थापना भएको कांग्रेसले २००७ सालको क्रान्ति मार्फत १०४ वर्ष लामो राणा शासनको अन्त्य गर्यो । यो परिवर्तन केवल जनआन्दोलनको परिणाम मात्र थिएन, यसमा राजा त्रिभुवन र प्रजातान्त्रिक शक्तिहरूबीचको सहकार्य निर्णायक रह्यो ।
२०१५ सालको आम निर्वाचन नेपालकै पहिलो प्रजातान्त्रिक अभ्यास थियो । त्यस निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाले संसदीय प्रजातन्त्र, नागरिक स्वतन्त्रता र समाजवाद उन्मुख नीतिलाई अघि बढाए । तर २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा संसद विघटन र पञ्चायती व्यवस्थाको घोषणाले त्यो अभ्यास अवरुद्ध भयो । त्यसपछि कांग्रेसले लामो समय निर्वासन, भूमिगत राजनीति र सशस्त्र संघर्षसम्मको बाटो अपनायो ।
बी.पी. कोइरालाको राजनीतिक जीवनको उत्तरार्ध विशेष महत्वको छ । २०३३ सालमा स्वदेश फर्किँदा उनले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसको वैचारिक उचाइ थियो । उनको स्पष्ट धारणा थियो, राजा बिना राष्ट्रियता कमजोर हुन्छ, प्रजातन्त्र बिना जनअधिकार सुरक्षित हुँदैन, (राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ) ।
त्यसैले राजासहितको प्रजातन्त्र नै नेपालको भूराजनीतिक आवश्यकता हो । यो विचार कुनै राजावादी आग्रह होइन, नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको यथार्थ आवश्यकताको मूल्याङ्कन थियो । २०३६ सालको जनमत सङ्ग्रह र त्यसपछिका घटनाहरूले देखायो कि बी.पी. कोइरालाको चिन्ता दीर्घकालीन स्थायित्वसँग जोडिएको थियो । २०३९ सालमा उनको निधनसँगै कांग्रेसभित्रको वैचारिक स्पष्टता क्रमशः कमजोर बन्दै गयो ।
आज कांग्रेस बी.पी. कोइरालालाई सम्मान त गर्छ, तर उनको मूल राजनीतिक दृष्टिकोणको सार तत्वबाट टाढा पुगेको छ । राष्ट्रियताको प्रतीक राजसंस्थालाई पूर्णरूपमा राष्ट्रिय विमर्शबाट हटाउँदै, कांग्रेस गणतन्त्रको धारमा अगाडि बढ्यो । परिणामस्वरूप पार्टीभित्र वैचारिक मतभेद चर्किँदै गए र अन्ततः कांग्रेस राजनीतिक रूपमा विभाजित भयो । दुबै पक्षले वैधताको दाबी गरिरहेका छन्, मुद्दा निर्वाचन आयोग र अदालतसम्म पुगेका छन् ।
देशको समग्र अवस्था पनि सहज छैन । राजनीतिक अस्थिरता, असन्तुष्टि र अविश्वासको वातावरणबीच निर्वाचन घोषणा भएको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी झन् बढेको छ । प्रश्न यो होइन कि कांग्रेस राजतन्त्र वा गणतन्त्रको पक्षमा छ, प्रश्न यो हो, के कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र स्थायित्वलाई एउटै सूत्रमा बाँध्न सक्छ कि सक्दैन ?
बी.पी. कोइरालाको इतिहासले यही सन्देश दिन्छ, नेपालमा कुनै एक पक्षलाई पूर्णरूपमा निषेध गरेर स्थायी राजनीतिक समाधान सम्भव हुँदैन । कांग्रेसले यदि आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न चाहन्छ भने सत्ता भोगको भावनाभन्दा माथि उठेर राष्ट्रिय आवश्यकताको यथार्थ मूल्याङ्कन गर्नुपर्ने समय आएको छ ।
