चिसो मौसममा देखिने धेरै स्वास्थ्य जटिलतामध्ये एक हो, मुटुसम्बन्धी समस्या । त्यसैले अन्य मौसमभन्दा चिसोमा मुटुसम्बन्धी सामान्यदेखि जटिलसम्मका समस्या लिएर नियमित तथा आकस्मिक समयमा अस्पताल पुग्ने विरामी धेरै हुन्छन् । नियमित रक्तचाप तथा अन्यखालका मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका व्यक्तिहरू चिसो मौसममा मुटुसम्बन्धी आकस्मिक स्वास्थ्य समस्याको जोखिममा हुन्छन् ।
जसले गर्दा चिकित्सकहरूले जोखिमपूर्ण समूहमा रहेका हुन् कि स्वास्थ्य अवस्थामा सामान्य भएका व्यक्ति चिसो मौसममा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्छन् । विशेषगरी पहिलेदेखि नै मुटु र मुटुजन्य समस्या समस्या भएकाहरू, (मधुमेह, उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोरोल) समस्या भएका विरामी जुनसुकै मौसममा हृदयघात तथा अन्य प्रकारका मुटु सम्बन्धी समस्याको जोखिममा हुन्छन् । यस्ता समस्या हुनेका लागि चिसो मौसममा ‘भ्याजुस्पाजम’ अर्थात् मुटुका रक्तनली एक्कासी बन्द हुने समस्या हुन्छ ।
यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चार अवरोध हुन्छ र हृदयघातको जोखिम बढाउँछ । विशेषगरी यो मौसममा खानामा धेरै रुचि हुन्छ, यसले शरीरमा मोटोपना र आलस्य बढाउँदै लैजान्छ । धेरै खाना खाने अल्कोहल बढी लिने, धूमपान गर्नाले तथा व्यायाम नगर्ने गर्नाले बोसो लगायत अन्य कारणले रक्तनली खुम्चिने र हृदयघातको जोखिम बढाउने तत्त्व सक्रिय हुने हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार खाना धेरै रुच्ने, चिसोकारण शरीर पनि खासै धेरै नगरिने हुन्छ ।
हाम्रो शरीरमा हुने हर्मोन रातिको २ बजेदेखि (बिहानीपख) बढी एक्टिभ हुन्छन । त्यसैअनुसार क्याटोकल एमोन हर्मोन बिहानको समयमा धेरै एक्टिभ हुन्छ । फलस्वरूप यसले हाम्रो शरीरको चिल्लो पदार्थ बढ्छ । रगतनली साँघुरो बनाउँछ अनि हृदयघात हुन्छ । यस्तै डा.अनिलका अनुसार हृदयघातको जोखिम बढ्ने दोस्रो कारण भनेको कम शारीरिक व्यायाम हो । चिसोकै कारण यो समयमा शारीरिक व्यायाम कम गर्ने धेरैको बानी हुन्छ ।
यसले गर्दा मुटुको स्वास्थ्यका लागि उच्च जोखिम मानिएको कोलेस्ट्रोरोल मधुमेह तथा उच्चचाप जस्ता समस्या पनि बढ्छ र मानिसमा आकस्मिक हृदयघातसहित पक्षघात जस्ता समस्या यो मौसममा बढ्छ । यस्तै मुटुपछि यो मौसममा रक्तनली सम्बन्धी विभिन्न प्रकारका समस्या पनि बढ्ने, फोक्सो तथा नसा रोग विशेषज्ञ डा.सञ्जीतकुमार साह बताउँछन् । उनका अनुसार यो मौसममा मुटु मात्रै नभएर रक्तनली सम्बन्धी स्वास्थ्य समस्या समेत बढ्छ । चिसोको कारण प्रत्यक्ष असर पर्ने भनेको रक्तनलीहरूलाई हो ।
विशेषगरी हाम्रो शरीरको बाहिरी भाग (हात, औँला, गोडा) रहेका नसा चिसोबाट धेरै प्रभावित हुन्छन् । चिसोले गर्दा विशेषगरी यस्ता रक्तनली साँघुरिन्छ र जाडो भन्दै शारीरिक व्यायाम पनि कम गरिन्छ यसले गर्दा शरीरमा रक्तप्रवाह हुन पाउँदैन र रक्तनली सम्बन्धी समस्या देखिन्छ । यसले हृदयघातको जोखिम समेत बढाउँछ । त्यसैले पहिलेदेखि नै रक्तनलीमा समस्या भएका, मुटुजन्य समस्या तथा उच्च रक्तचाप र उच्च कोलेस्टरोलको समस्या भएकाले चिसो मौसममा विशेष सावधानी अपनाउनुपर्ने डा. साहको भनाइ छ ।
सत्यपाटी