२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday
विचार

कांग्रेस महाधिवेशन बहस कि लोकतान्त्रिक चरित्रको परीक्षा ?

आन्तरिक लोकतन्त्र कमजोर हुँदा समाज र राष्ट्र झन् अस्थिर हुन्छ भन्ने यथार्थ बुझ्न अब ढिला नगर्ने कि काङ्ग्रेसीजनहरु ?
भुमबहादुर भण्डारीभुमबहादुर भण्डारी । युवा नेता । २०८२ पुस २४ गते बिहीबार

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा जेठो, सबैभन्दा लामो संघर्षबाट खारिएको र लोकतान्त्रिक मूल्य–मान्यता, विधि–पद्धति, सिद्धान्त, निष्ठा, आदर्श र चरित्र बोकेर स्वदेश तथा विदेशमा आफ्नो गौरवमय पहिचान स्थापित गर्न सफल पार्टी हो नेपाली काङ्ग्रेस । झन्डै आठ दशक लामो संघर्ष, संगठन निर्माण, सत्ता र सरकार संचालनको साझेदार बनेर लोकतन्त्र स्थापनादेखि संविधान निर्माणसम्मको यात्रामा यसको योगदान इतिहासलाई अस्वीकार गर्न सकिँदैन र मिल्दैन ।

तर आज, यही पार्टी आफ्नो आन्तरिक सांगठनिक जिवनमा विशेष वा नियमित महाधिवेशनको बहससँगै आफ्नै पार्टी नेतृत्व र कार्यकर्ताको आचरणको संकटमा देखिएको छ । यत्रो लामो राजनीतिक, सामाजिक र सामरिक यात्रापछि पार्टीले के–कति रूपान्तरण गर्यो ? कस्ता उपलब्धि हासिल गर्यो ? र अहिलेको व्यवहार त्यस गौरवमय इतिहाससँग मेल खान्छ कि खादैन ? बहसको विषय बनेको छैन । आज सतहमा देखिने दृश्य चिन्ताजनक छ ।

पार्टीको लोकतान्त्रीकरण र समाज–राष्ट्रको स्थायित्वका लागि उदाहरण बन्नुपर्ने ठूला दलहरू स्वयं गुट–उपगुट, समूह–उपसमूहमा विभाजित हुँदै सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत आफ्नै नेता, आफ्नै पार्टी र आफ्नै इतिहासको सार्वजनिक कत्लेआम चिरहरण गर्न व्यस्त छन् । राजनीतिक बहस होइन, गालीगलौज, आरोप–प्रत्यारोप, व्यक्तिगत चरित्रहत्या मुख्य राजनीतिक अस्त्र बनेका छन् ।

जब लोकतन्त्रको पाठ पढाउने ठूलो पार्टी स्वयं गैरजिम्मेवार, अराजक र असहिष्णु देखिन्छ, तब नयाँ उदाउँदै गरेका दलहरूले के सिक्ने ?, विध्वंस ?, फुट ?, अस्थिरता ?, अराजकता ? वा राजनीतिक विकृति र विसङ्गति ? लोकतन्त्र केवल चुनाव जित्ने साधन होइन । यो विधि, पद्धति, सिद्धान्त, निष्ठा, लगनशीलता, अनुशासन, प्रतिबद्धता र मर्यादा हो । यी मूल्यहरू नेपाली काङ्ग्रेस मात्र होइन, सबै राजनीतिक दलले आन्तरिक रूपमा कडाइका साथ पालना गर्न सक्नुपर्छ ।

नेपालको राजनीतिमा झोले, दास, लठैत र अन्धभक्त त पहिलेदेखि नै थिए । तर आजको खतरनाक प्रवृत्ति के हो भने, पार्टीभित्रै गुटका झोले, समूहका दास र नेताका लठैत उत्पादन भइरहेका छन् । यसले न नेता बलियो बनाउँछ, न पार्टी सुदृढ हुन्छ, न लोकतन्त्र सुरक्षित रहन्छ, न देशले कुनै उपलब्धि पाउँछ । यस प्रवृत्तिले अन्ततः सबैलाई घाटा पुर्याउँछ । नेतृत्वलाई अविश्वसनीय बनाउँछ, पार्टीलाई कमजोर, लोकतन्त्रलाई खोक्रो र देशलाई दिशाहीन बनाउँछ । महाधिवेशन केवल नेतृत्व बदल्ने प्रक्रिया होइन, यो आत्मसमीक्षा, आत्मसंयम र आत्मसुधारको अवसर हुनुपर्छ ।

यदि यही अवसरलाई पनि गुटगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र सार्वजनिक बदनाम गर्ने खेलमा खेर फालियो भने इतिहासले माफ गर्ने छैन । नेपाली काङ्ग्रेसमात्र होइन, सबै राजनीतिक दलहरूले बुझ्नैपर्छ, लोकतन्त्र जोगाउने हो भने पहिले आफ्नै आचरण जोगाउनुपर्छ । काङ्ग्रेस महाधिवेशनको चर्चासँगै सतहमा देखिएका गुटबन्दी, असहिष्णुता र अमर्यादित व्यवहारबाट राजनीतिक दलहरूले आत्मसमीक्षा र आत्मसंयमको शिक्षा लिनैपर्छ । आन्तरिक लोकतन्त्र कमजोर हुँदा समाज र राष्ट्र झन् अस्थिर हुन्छ भन्ने यथार्थ बुझ्न अब ढिला नगर्ने कि काङ्ग्रेसीजनहरु ?

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार