अहिले बाँकेमा ट्राफिक प्रहरीले झोक चल्दा मात्रै ट्राफिक चेकजाँच थाल्ने गरेको छ । ट्राफिक नियम कार्यान्वयन गर्नुको साटो झोक चलेका बेला मात्रै सडकमा पासो थापेर बस्ने ट्राफिक प्रहरीको कारण थुपै्रले सास्ती पाइरहेको नागरिकहरुको गुनासो छ । ट्राफिक प्रहरी आफ्नो सुविधा अनुसार चेकजाँच तथा कारवाहीमा सक्रिय हुने गरेको नागरिकहरु बताउँछन् ।
नागरिकहरुका अनुसार सडक नै कब्जा गरेर राखिएका सवारी साधनलाई कारवाही गर्न ट्राफिक प्रहरी कहिल्यै सक्रिय हुँदैन । तर, चेकजाँचका नाममा ट्राफिक प्रहरीलाई झोक चलेका बेला यो वा त्यो बहानामा थापिने ‘जाल’ बाँकेबासी आजित बनेका छन् । अझ चेकजाँचमा खटिएका ट्राफिक प्रहरीहरुको फुर्ति र रवाफ अजिब लाग्दो हुन्छ ।
मानौं, सुर्खेत रोडमा सवारी हुँइक्याउने सवारी चालकहरु अपराधी हुन् । ट्राफिक प्रहरीहरुको व्यवहार ‘बाघ’ले आहारा झम्टिए झैं हुन्छ । सवारी रोकिन नपाउँदै ‘बाघ’ले आहारा झम्टिएझैं गरेर ट्राफिक प्रहरीहरु चालकसँग के–कसो हो नबुझेरै चिट काट्न भन्दै थर्काउने र हप्काउने गर्थे । उनीहरुको व्यवहार ‘प्रहरी मेरो साथी होइन, प्रहरी मेरो शत्रु’ जस्तो हुन्छ ।
बाँकेमा केही ट्राफिक प्रहरी कर्मचारीहरुको व्यवहार नागरिकमैत्री पटक्कै छैन । उनीहरु सवारी चालकमाथि तल्लो स्तरको व्यवहार गर्छन् । साँच्चिकै उनीहरुको व्यवहार प्रहरीमैत्री हुँदैन । उनीहरुको व्यवहारमा गुण्डागर्दीको शैली प्रष्टै झल्किन्छ । अनुशासित भएर सभ्य रुपमा प्रस्तुत हुनुपर्ने ट्राफिक प्रहरी असभ्य शैलीमा प्रस्तुत हुनु राम्रो र स्वीकार्य हुँदै होइन ।
झोकको भरमा नभएर आवश्यकताका आधारमा ट्राफिक चेकजाँच गर्नुपर्छ । ट्राफिक चेकजाँच नियमित चल्नुपर्छ, कर्मकाण्डी चेकजाँचले झनै ट्राफिक दुर्घटना बढाउँछ । ट्राफिक प्रहरीका अभियानहरु कर्मकाण्डी हुँदा दुर्घटनाको जोखिम झन् बढेको देखिन्छ । त्यसो त पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बाँकेमा ट्राफिक व्यवस्थापन निकै कमजोर देखिएको छ ।
बाँकेका मुख्य बजार क्षेत्रका सडकमा सवारी जाम बढ्न थालेपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । जिल्लाका मुख्य बजारका सडकको दायाँबायाँ मनपरी गरिने पार्किङले ट्राफिक व्यवस्थापन निकै फितलो छ । जिल्लाका मुख्य शहर नेपालगन्ज, कोहलपुर, खजुराका मुख्य सडक क्षेत्रमा जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनलाई गिज्याइरहेको छ ।
पसल, अस्पताल, बैंक, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयसमेत रहेको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेदेखि सरकारी कार्यालयका सेवाग्राही हिँड्डुल गर्दा मुख्य सडक छेउमा सवारी पार्किङ गर्ने क्रम बढेको छ । सडकसँग जोडिएका व्यावसायिक प्रतिष्ठान तथा अस्पतालले पार्किङ क्षेत्र नबनाएकोले सडक क्षेत्र अतिक्रमण भइरहेको छ ।
पछिल्लो समय अटोरिक्साले थप जटिलता निम्त्याएका छन् । बाँकेमा ५० हजार बढी अटोरिक्सा सञ्चालनमा छन् । जसमध्ये आधाबढी नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालनमा छन् । मुख्य बजारमै केन्द्रित हुने भएकोले अटोरिक्साले सवारी चाप बढाएका छन् । मोटरसाइकल र साना सवारी पार्किङका लागि स्थान छुट्टयाए पनि कार्यान्वयन नहुँदा समस्या भएको छ ।
अटोरिक्साको वृद्धिसँगै कमजोर ट्राफिक व्यवस्थापनले समस्या थपिएको छ । अधिकांश अटोरिक्सा चालकसँग चालक अनुमति पत्र पनि छैन । अटोरिक्सा कति छन् भन्ने स्पष्ट तथ्यांक पनि छैन । मापदण्ड बिनै चलेका अटोरिक्साका कारण सडक दुर्घटनाको जोखिम उच्च छ । जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने गरेका छन् ।
ट्राफिक अव्यवस्थित हुने गरी रिक्साहरु पार्किङ्ग गरिन्छ । लाइसेन्स लिनुपर्ने, यात्रु दुर्घटना बिमा हुनुपर्ने, ट्राफिक नियम पालना गर्नुपर्ने, जहाँ पायो त्यहीँ रोकेर यात्रु भर्ना नपाइने लगायतका मापदण्डहरु अधिकांश अटोरिक्सा चालकले पालना गरेका छैनन् । ट्राफिक प्रहरीको निगरानी अभावले यहाँ ट्राफिक नियम पालना गर्ने चालकको संख्या निकै कम देखिन्छ ।
ट्राफिक निगरानी कमजोर हुँदा सडक दुर्घटनासमेत बढिरहेको बाँकेको कोहलपुर नगरपालिका–१२ का जनक बुढा बताउँछन् । ट्राफिकले कडा निगरानी नराखेकै कारण दुर्घटना बढिरहेको उनको आरोप छ । पछिल्लो समयमा अटोरिक्सा यात्रुका लागि सजिलो यातायातको साधन बनेको छ । यात्रुलाई सहज भए पनि अटोरिक्साले दुर्घटनाको जोखिम बढाएको छ ।
दुर्घटना बिमा नै नभएका अटोरिक्सा, लाइसेन्स नभएका चालक र अन्य सवारी साधनले मुख्य सडक क्षेत्रमै जथाभावी पार्किङ्ग गर्दासमेत ट्राफिक प्रहरीले नजर पुर्याउन नसक्दा जिल्लाकै ट्राफिक व्यवस्थापन कमजोर देखिएको छ । ट्राफिक व्यवस्थापनकै बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीसँग जानकारी लिन कार्यालयको सरकारी नम्बर ९८५८०८०६०१ मा उनी सम्पर्कमा आउन चाहेनन् ।
सत्यपाटी