२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

चिरफारबिनै केएमसीमा मस्तिष्क रक्तश्राबको दुर्लभ उपचार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ७ गते सोमबार

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले मस्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिना शल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ जीवन दिएको छ । ताप्लेजुङकी ५२ बर्सिया राधिका लिम्बूलाई केही दिनअघि निकै गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केएमसीमा रेफर गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट एम्बुलेन्समार्फत अस्पताल आइपुग्दा उनको मस्तिष्कमा धेरै रगत जमिसकेको थियो । अवस्था यस्तो थियो कि उपचारमा केही घण्टा मात्रै ढिलो भएको भए ज्यान पनि तलमाथि पर्नसक्थ्यो । एनजीओग्राफी उपचार गर्दागर्दै नशा फुटेको अवस्थामा सफल उपचार गरिएको यो नेपालकै दुर्लभ घटना भएको केएमसीले जनाएको छ ।

नेपालको सन्दर्भमा डीएम न्योरोइन्टरभेन्सनिस्ट र बाई प्लेन क्याथल्याब प्रविधि काठमाडौँ मेडिकल शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ । केएमसीमा ल्याइपुर्याउने बित्तिकै न्युरो इन्टरभेन्सनिस्ट एवं इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा.अरुण पौडेलको नेतृत्वमा राधिकाको उपचार सुरु भयो । त्यतिबेलासम्म पनि बिरामीको मस्तिष्कमा रक्तश्राव भइरहेको थियो ।

त्यसपछि डाक्टरले बिरामीको खुट्टामा सानो प्वाल पारे र धमनीबाट तार अनि मसिनो पाइप छिराई मस्तिष्कको फुटेको बेलुनसम्म (एनुरिज्म) पुर्याएर रगतको प्रवाह आवश्यक दीशामा पुर्याए । औषधि विज्ञानको भाषामा यो प्रक्रियालाई फ्लो डाइभर्टर एन्ड कोइलिङ भनिन्छ र मस्तिष्कमा रक्तश्राव भएका बिरामीको उपचारमा यो प्रविधि नै महत्त्वपूर्ण मानिन्छ ।

त्यसपछि रगतको प्रवाह सही दीशामा हुन थाल्छ र रक्तश्राव बन्द हुन्छ । उता रगत जमेको बेलुन बिस्तारै सुक्दै जान्छ र केही समयपछि हराउँछ । कुनै ठुलो चिरफार नगरी अन्ततः साढे दुई घण्टाको डाक्टरहरूको अथक प्रयास सफल भयो र राधिकाले नयाँ जीवन पाइन् । यस्तो दुर्लभ उपचारपछि अस्पतालको आईसीयूमा स्वास्थ्य लाभ गर्दै घर फर्कने तयारी गरिरहेकी राधिकाले खुसी हुँदै अस्पताल तथा उपचारमा संलग्न डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिएकी छन् ।

आमाको सफल उपचारपछि छोरी अनुशाले भनिन् ‘यो प्रविधिबाट उपचार गर्दा कुनै दाग बस्दैन । छोटो समयमै बिरामी सामान्य अवस्थामा फर्कन्छ । अस्पतालको बसाइ छोटो हुन्छ भने उपचार सफल हुने दर पनि बढी हुन्छ । उपचारको प्रभावकारिता धेरै हुन्छ । जुनसुकै उमेरका बिरामीको पनि यो प्रविधिबाट उपचार गर्न सकिन्छ । साथै शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगी बिरामीको उपचार पनि यो प्रविधिबाट गर्न सकिन्छ र उपचारमा लामो समय खर्च गर्नु पर्दैन । यस्तो प्रविधिबाट उपचार गर्न यसअघिसम्म विदेश नै जानुपर्ने बाध्यता थियो तर केएमसीमा यो सुविधा उपलब्ध भएपछि नेपालमै सम्भव भएको छ ।’

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार