नेपाली राजनीतिको शक्तिशाली खेलाडी नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनबाट आफ्नो नयाँ नेतृत्व छनौट गरेको छ । महाधिवेशनबाट केपी शर्मा ओलीले एमाले अध्यक्षको जितमा ह्याट्रिक गरेका छन् । ताजा चुनावबाट नतिजा आए पनि उनको जित पक्का थियो । त्यो किन भन्न सकिन्छ भने हिजो ओलीले आफू जित्नको लागि साम, दाम, दण्ड, भेद कुनै कसर बाँकी राखेका थिएनन् ।
उनले विधि–विधान भुङ्ग्रोमा फालेर खरानी बनाइदिए । सँगैका ‘कमरेड’हरूलाई ‘पाखा’ लगाइदिए । ओलीलाई पार्टी अध्यक्ष बन्न दुई कार्यकाल र उमेर हदले रोकेन, बरू पार्टीमा बसेर राजनीति गर्छु भन्ने विद्या भण्डारीलाई नै रोकी दिए । ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल समूह नै बनाएर मैदान उत्रिएपछि विधान महाधिवेशनको निर्णय नै उल्ट्याएर पदाधिकारी सङ्ख्या थपियो ।
अन्ततः आगामी कार्यकालका लागि पोखरेलका दुई जना उम्मेदवारबाहेक ओली समूह नै विजयी भएको छ । यसअघि आठौँ महाधिवेशनमा झलनाथ खनालसँग ११७ मतले पराजित भएका ओली नवौँ महाधिवेशनमा भने माधव कुमार नेपाललाई ५६ मतले पराजित गर्दै पहिलो पटक पार्टी अध्यक्ष बनेका हुन् । दसौँ महाधिवेशनमा भीम रावलसँग प्रतिस्पर्धा गर्दा ओलीले १६१४ बढी मतले विजयी भएका थिए ।
अहिले नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस सतहमा आएको छ । तर, जसको निमित्त त्यो बहस भइरहेको हो उनीहरूले चुनौतिमात्रै दिइरहेका छैनन्, झन् सशक्त भइरहेका छन् । ओलीले पुनः नेतृत्वमा हैकम जमाइसक्दा उनका समकालीन पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि पार्टीमा हैकम जमाइराख्न अनेक जुक्ति लगाइरहेकै छन् । स्मरण रहोस्, गत भदौमा भएको जेनजी विद्रोह पनि यिनै नेताहरूप्रतिको वितृष्णा थियो ।
बहालवाला प्रधानमन्त्री भएकै बेला ओली बालुवाटारबाटै हेलिकोप्टरबाट भाग्नुपरेको थियो । सडकमा विद्यार्थीको छाती र टाउकोमा गोली ठोकिँदै थियो । जेनजीहरूले त्यो विद्रोहपछिको विध्वंसको मूल कारक नै ओली भनिरहेका छन् । जसका कारण सिङ्गो एमालेको आलोचना भइरहेको छ । सरकारले आगामी फागुनमा निर्वाचन तोकिसकेको छ । ओली संसद् पुनस्र्थापनाको पक्षमा छन् ।
विघटित संसद्को दोस्रो ठूलो शक्ति नै निर्वाचनको विरुद्ध उभिएमा देश झनै अनिश्चितताको दलदलमा फस्न सक्छ । नेतृत्वमा ओलीको ह्याट्रिकले एमालेभित्र मात्र होइन, सिङ्गो नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणको बहसलाई थप कमजोर बनाएको छ । नेतृत्वलाई स्वाभाविक रूपमा नयाँ पुस्तातर्फ सुम्पिनेभन्दा पनि शक्ति जोगाउने रणनीतिमा केन्द्रित राजनीति अझै बलियो भएको सन्देश एमाले महाधिवेशनले देखाएको छ ।
जसले लामो समयदेखि उठ्दै आएको पुस्तान्तरणको बहस बहसमै सीमित भएको देखिन्छ । जेनजी विद्रोहले देखाएको जनआक्रोश यिनै स्थापित नेताहरूप्रतिको असन्तुष्टि थियो । तर, त्यसको राजनीतिक सन्देश आत्मसात् गर्नुको साटो ओलीले पुनः नेतृत्व कब्जा गर्दै चुनौतीलाई अझ सशक्त ढंगले सामना गर्ने बाटो रोजेका हुन् । ओलीको ह्याट्रिकले पुस्तान्तरणको सम्भावनालाई फेरि एकपटक पछाडि धकेलेको छ र यो नेपाली राजनीतिका लागि उत्साहजनक सङ्केत पनि होइन ।
ओलीले अब एमालेलाई कसरी अगाडी बढाउलान् ? एमालेभित्रको लोकतन्त्र, वैचारिक बहस र सामूहिक निर्णयको सवालमा ओलीले पुरानै आफ्नो दम्भ कायम राख्लान् वा पुराना गल्तीबाट सिक्लान् ? धेरैले प्रतीक्षा गरेको विषय हो यो । महाधिवेशन निर्वाचनबाट पराजित भएकाहरूलाई ओली र उनको टिमले खिसीटिउरी गर्दै भित्तामा पुर्याउन पनि सक्छन् । उनको स्वभावले यही देखाउँछ ।
एमालेभित्र एकाधिकार कायम गरेपछि ओलीमा सर्वसत्ताबाटको नशा झनै चढ्ने पनि निश्चित छ । यसले एमाले मात्र होइन राष्ट्रिय राजनीतिमा पनि गम्भीर असर नपर्ला भन्न सकिने स्थिति छैन । अरूलाई दास र आफूलाई मालिक सम्झिने सामन्ती प्रवृत्ति ओलीमा हाबी छ । उनी सामूहिक नेतृत्व र निर्णय प्रक्रियामा सामूहिक सहमतिमा विश्वास गर्दैनन् । दुई जना बाहेक सबै पदाधिकारीको हैसियत ओलीमाथि प्रश्न गर्न सक्ने खालको छैन ।
फरक मत सुन्नै नचाहने ओलीमा यो तेस्रो जितले जनताको माझ एमाले कति पत्तुर भइसकेको छ भन्ने हेक्का नहुनु अनौठो भएन । जबसम्म ओलीले आफ्नो हैकमवादी सोच त्याग्दैनन् तबसम्म एमाले बौरिन सक्ने देखिँदैन । ओलीले एमालेलाई आफ्नो प्राइभेट कम्पनीमा रूपान्तरण गरिसकेका छन् । उनलाई आफ्नो गुट बलियो बनाएर सत्ता राजनीति मात्र गर्नु छ । सम्भवतः अब पनि ओली हिँड्ने बाटो यही हो ।
सत्यपाटी