‘मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ,’ जेनजी आन्दोलनका क्रममा शहिद भएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोखे । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते ठमेलको एक होटलमा ‘सेफ’ काम गरेर दिउँसो २ बजेतिर मोटरसाइकलमा घर फर्किदै गर्दा बानेश्वरको सिभिल अस्पताल अगाडि गोली लागेको थियो ।
‘छोराले फोन गरेर मलाई निन्द्रा लागेन बाबा म घरमै आउँछु भनेर फोन गरेका थिए,’ घटना भएको दिनको स्मरण गर्दै चौलगाईले थप्रे, ‘मैले आन्दोलन शान्त भएर अलि सहज भएपछि भित्री सडकबाट आउनु भनेँ तर मुख्य बाटो नै आएका रहेछन्, जे नहुनु थियो, त्यही भयो ।’ होटेलको काम सकेर घर जान हिडेका २१ वर्षीय अभिषेक होटलमा बस्न मन नलागेपछि भक्तपुर सरस्वतीखेल जान भनेर हिडेका थिए ।
स्थायी घर दोलखा शैलुङ गाउँपालिका–४, सेरावेंशी भएपनि सात वर्षदेखि उनी सपरिवार भक्तपुर बस्दै आएका थिए । ‘छोराले घर हिडेँ भनेर दिउँसो २ बजेतिर फोन गरेका थिए, निकै बेरसम्म नआएपछि मैले फोन गरेँ, फोन लागेन,’ उनले सुस्तरी भने, ‘छोरा घरमा नआएपछि होटलमा फोन गरेँ, होटलबाट सेफको सामान किन्न गएका छन्, चिन्ता गर्न पदैन भने, केही सन्तोष मिल्यो ।’ बाबु दिनेशले छोरालाई फेरि साँझ पटकपटक फोन गरे, सम्पर्क भएन ।
होटलमा बुझ्दा यहीँ छन् भनेपछि केही ढुक्क भएका थिए परिवार । ‘मैले २५ गते बिहानै फोन गरेँ–लाग्दैन, फोन बन्द छ, होटलमा कुरा गर्दा यतै होलान् नआत्तिनुस् भन्छन्,’ उनले भावुक भएर थपे, ‘मन धेरै बैचनी भइसकेको थियो, छोराको खोजी गर्दा कहीँ फेला पर्दैनन् । अभिषेकका सपरिवार, आफन्त, साथीभाइहरुले खोजी गरिरहेका थिए ।’
भदौ २५ गते बेलुका ५ः३० बजे छोराको साथीले फोन गरिन्, अभिषेक बाइकमा हिडिरहेको बेलामा पछाडिबाट गोली लागेर सिभिल अस्पताल लगेको भिडियो देखेँ बुबा भनिन्, सुरुमा त पत्यारै लागेन,’ आँखाभरि आँशु पार्दै विस्तारै उनले भने, ‘सुन्ने बित्तिकै सिभिल अस्तालमा पुग्यौँ, नभन्दै पछाडिबाट गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको रहेछ ।’ व्यवस्थापन विषयमा स्नातक तहमा पढ्दै गरेका छोरा छैन भन्दा सपनाजस्तो लागिरहेको छ दिनेशलाई ।
जीवनको साहारा आफूसँग छैन । छोरोको अनुहार हेर्न सक्ने अवस्था पनि भए । कलकलाउँदो छोरो अस्तायो । परिवार सबै भेला भएर अभिषेकको पार्थिव शरीरको पशुपतिमा अन्यष्टि गरियो । ‘बुढेसकालको सहारा ढल्यो, असाध्यै पीडा हुन्छ, दुःख लाग्छ, मन बेचैन हुन्छ, घर हिडेको एउटा निर्दोस छोरालाई गोली लाग्यो,’ आफूलाई सम्हाल्दै दिनेशले थपे, ‘छोराको वियोगले आमा अहिलेसम्म आफूलाई सम्हाल्न सकेकी छैनन्, उनीसँग छोराको विषयमा केही कुरा गर्नैहुँदैन रुवावासी गर्छिन् ।’ अभिषेकको बेलायत जाने तयारी भइरहेको थियो ।
सानैदेखि पढाइमा निकै राम्रो अनि सबैसँग मिल्ने र कसैलाई पनि दुःख पर्नेबित्तिकै सहयोग गरिहाल्ने बानी थियो । ‘सानैदेखि असाध्यै ज्ञानी, पढाइमा एकदम राम्रो थियो, सबैलाई सहयोग गर्ने भएकाले सबैको प्रिय थियो’–छोरालाई सम्झदै बाबुले थपे ,‘गाउँटोलमा सबैलाई सहयोग गर्ने, कसैको दुःख देख्ने बित्तिकै सहयोग गर्थे, बेलायत गएर पैसा कमाउँदै बाबुआमालाई खुशी राख्छु भन्थे ।’ अभिषेककी १० कक्षामा पढ्ने बहिनी दिक्षा छिन् । दाइले कमाएर बहिनीलाई पढाउँथे ।
‘दाइ पढाइमा राम्रो हुनुहुन्थ्यो, धेरैजसो छात्रावृत्तिकै पढ्नुभयो,’ बहिनी दिक्षाले थपिन्, ‘मेरो पढाइमा पनि दाइको साहारा थियो, अब कसरी पढ्ने ?’ घरमा आम्दानीको स्रोत केही नभए पनि शहिद अभिषेककी आमालाई चाहिँ सरकारले केही जागिर लगाइदिन पाए हुन्थ्यो भन्ने लागेको छ । ‘सरकारी जागिर खान लोक सेवा पास गर्नुपर्ने रहेछ, पढाइ पनि छैन,’ बाबुले थपे, ‘बिहान–बेलुका हातमुख जोड्ने बाटो केही छैन, कसरी खाने, के गर्ने ? हामी असाध्यै चिन्तामा छौँ ।’
दिनेशले श्रीमतीलाई केही जागिर लगाउन सकिन्छ कि भनेर ऊर्जामन्त्री कुलमान घिसिङ्सँग पनि भेट गरे । आफ्ना समस्याका कुरा पनि राखे । ‘श्रीमतीलाई सरकारी जागिर लगाउन पाए हुने भन्ने लागेको छ, भक्तपुरतिरै मिले राम्रो हुने थियो, जागिरका लागि पहल ‘गरेको छु तर अहिलेसम्म मिलेको छैन,’ उनले भने, ‘जेनजी आन्दोलनका शहिद परिवारहरुको एउटा ‘शहिद संरक्षण समिति’ बनेको छ, त्यसले पनि पहल गरिरहेको छ ।’
शहिद संरक्षण समितिको संयोजक भोजविक्रम थापा छन् । उनले शहिद परिवारका लागि के गर्न सकिन्छ कि भनेर पहल गरिरहेका छन् । दिनेश पहिला सार्वजनिक गाडी चलाउथेँ । श्रीमान र श्रीमती दुवै ४१ वर्षीय भए । अभिषेकका मामा सुन्दर सुवेदीलाई बिनाकारण आफ्ना भान्जाले ज्यान गुमाउनु परेकोप्रति अत्यन्तै पीडा भएको छ । ‘फेसबुकमा भान्जालाई गोली लागेको भिडियो देखेर सिभिल अस्पतालमा गयौँ,’ उनले भने, ‘पछाडिबाट गोली लागेर अगाडि छोडेको थियो, घटनास्थलमै मृत्यु भएको भिडियोबाट देखिन्थ्यो ।’
आन्दोलनको नाममा बिना कारण कलिला बालबालिकाले ज्यान गुमाउनु परेकोप्रति उनलाई दुःख लागेको छ । ‘कलिला बालबालिकाले ज्यान गुमाउनुपर्यो, देशका लागि यस्ता खालको आन्दोलन अब गर्न नपरोस्,’ उनले थपे, ‘देशका लागि ज्यान आहुति दिएको सम्मान होस्, मुलुकमा शान्ति सुरक्षा होस्, अब यसरी कसैको ज्यान गुमाउनु नपरोस् ।’ देश राम्रो भएको हेर्न मन छ उनलाई ।’ भान्जाको रगत त्यतिकै खेर नजाओस्, मुलुकमा विकास होस्, सुशासन होस्,’ उनले जोडे, ‘देशमा फेरि यस्ता घटना नहोदोरियोस् ।’
सरकारले गत भदौ ३० जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवारलाई क्षतिपूर्तिवापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च पाँच लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेअनुसार चौलगाईको परिवारले पनि राहतस्वरुप १५ लाख रुपैयाँ पाएको छ ।
सत्यपाटी