२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

‘पानी बोकेरै जवानी बित्यो, बल्ल चिन्ता हट्यो’

सत्यपाटीसत्यपाटी । कालिकोट । २०८२ मंसिर २३ गते मंगलबार

कालिकोटको देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको वस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झोलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि विशाल भीर आइपुग्छ ।

भीरबाट तलतिर हेर्दा आङ सिरिङ्ग हुने कहाली लाग्छ । तिलगुफा नगरपालिका–२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो । चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे ।

उनले त्यो दिनको त्रासदी सम्झिदै भने, ‘चालमको बोरा लिएर साँझमा घर आउँदै थिए । भीरको बीच भागमा पुगेपछि चिप्लिए छु । झण्डै तिलानदीमा पुगेको । धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन् । टाउँकामा चोट लागेछ । नेपालगञ्जमा गएर उपचार गर्दा सात लाख सकियो ।’

भीरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिनजाँदा कति गाग्रा गाग्री गुल्टे देवारतोलीवासी सम्झन चाहँदैनन् । पछिल्लो समय गाउँलेले भीरको नाम नै ‘चन्दे्रभिर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जङ्गलमा घाँस दाउरा लिन आउँछन् ।

भीर सकिने बित्तिकै जंगलको भाग आउँछ । उक्त जंगलको यात्रा सकिएपछि गाउँ आउन पुनःउकालो लाग्नुपर्छ । यही उकालोकै बीचमा सिमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी संकलन गर्न ट्यांकी बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्यांकीबाट पानी भर्न घण्टौँ लाग्दथ्यो । यत्तिकै समय पानी लिएर घर आउँदा व्यतीत हुन्थ्यो । यहाँका स्थानीयवासी हिउँदका समयमा मूल सुक्दा तिला नदीमा नै जान्थे ।

देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिँदै भनिन्, ‘पानी बोकेरै जवानी बित्यो । भीरबाट कति गाग्री लडे भनिसक्नु छैन । थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो । तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन । बस्तुभाउलाई त पानी खुवाउन तिला नदीमै लैजानुपर्दथ्यो । सागसब्जी लगाउन त परै जाओस् ।’

पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरू साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आगनका डिलमुनिका बारीमा खेर गएका पानीबाट साग सब्जी लगाउन थालिएको छन् ।

घरका आँगन–आँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् । दलित समुदायको करिब ४५ घरमा करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौपछि खुसीका दिन आएको हो । उनले भनिन्, ‘आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन । धारा नै हेरिरहुँ जस्तो भइराखेको छ । बल्ल पानीको चिन्ता हट्यो । अब त साग सब्जी खान पाइने भयो । बस्तुभाउलाई खुवाउन समस्या नहोला । आलु लगाउन पाइएला ।’

उब्जनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्छन् । नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले यहाँका गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सो कार्यक्रम सञ्जालित छ ।

देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँका अब खानेपानीको संकट अन्त्य भएको बताए । उनले भने, ‘गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्यांकीमा सङ्कलन गरेका छौँ । ट्यांकी बनाउनेदेखि घर–घरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग गर्यो । यसमा हामी खुसी छौँ ।’ उनका अनुसार गाउँका धारमा समान रुपमा पानी वितरण गरिएको हुँदा समुदाय रमाएका छन् ।

समितिका सदस्यसमेत रहेका चन्द्रबहादुरले भने, ‘भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ । यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु ।’ तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पुर्याउने आफ्नो ध्येय रहेको र यो ध्येय सफलता पाएको बताउँछन् ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवद्र्धन गरिराखेको जानकारी दिइन् । ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’का जिल्ला संयोजक रवि लामिछाने स्थानीय समुदायको मागअनुसार कार्यक्रमले गाउँका ४५ घरमा ‘एक घर एक धारा’ निर्माण तथा ‘चन्द्रेभीर’मा रेलिङ बनाउन स्थानीय समुदायलाई सहयोग गरेको हो,’ उनले भनिन् ।

देवारतोलीको चरम खानेपानीको संकट समाधान भएको छ । समुदायको मागअनुसार नै चन्द्रेभीरमा रेलिङ निर्माण गरिएको छ । अब भीरमा लडेर अकालमा गाउँलेको ज्यान जाँदैन । सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ । दलित टोल बदमबाडा खानेपानी उपभोक्ता समितिका सदस्य एवं कालिका माविका शिक्षक धीरेन्द्र पाण्डेले बताए ।

‘खानेपानीको चरम संकट भएर गाउँबाट बसाइ साराइ बढ्दै थियो । यस्तो अवस्थामा नगरपालिकाले रेडक्रससँगको सहकार्यमा ‘एक घर एक धारा’को सुविधा पुर्याएको छ । महिलाको समय बचत भएको छ । बालबालिकाले पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार