सुर्खेतको वीरेन्द्रनगर–१० का प्रेमबहादुर चौधरी २०७३ सालदेखि सिकलसेल एनिमियाबाट पीडित छन् । तर कर्णाली प्रदेशको राजधानीमै उपचार सुविधा नहुँदा उनी अहिले पनि नियमित औषधि र स्वास्थ्य परीक्षणका लागि लुम्बिनी प्रदेशको नेपालगन्ज पुग्न बाध्य छन् । उनका अनुसार औषधिभन्दा बढी खर्च यातायात र बसोबासमा हुने गर्छ ।
सिकलसेल एनिमियाबाट प्रभावित थारू समुदायका अधिकांश बिरामीले पनि यही समस्या भोगिरहेका छन् । सुर्खेतमा उपचार केन्द्र वा औषधि उपलब्ध नहुँदा महिनामा एकपटक अनिवार्य स्वास्थ्य परीक्षणका लागि नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता छ । स्थानीय विमला चौधरीका अनुसार, ‘नेपालगन्ज गएर औषधि लिन दुई दिन लाग्छ र यातायातसहित पाँच हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ ।’
सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष दिलबहादुर चौधरीले रोग थारू समुदायमा तीव्र गतिमा फैलिँदै गएको बताउँदै सुर्खेतमै उपचार र औषधिको व्यवस्था गर्न माग गरेका छन् । उनका अनुसार थोरै ध्यान र स्रोत लगानी गर्न सके विपन्न समुदायलाई ठूलो राहत पुग्नेछ । नेपाल संस्कृत विश्वविद्यालयका डा.सुरेन्द्र चौधरीका अनुसार सुर्खेतमा हाल ४१ जना बिरामी नियमित औषधि प्रयोग गरिरहेका छन् ।
सन् २०८० र २०८१ मा गरिएको परीक्षणमा क्रमशः ७० र १८ जनामा सिकलसेल पाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले सिकलसेल लगायत १२ जटिल रोगको उपचारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै चालु वर्षमै उपचार खर्च व्यवस्थापन र सुविधा विस्तारबारे पहल हुने जानकारी दिएका छन् ।
सत्यपाटी