भारतले बंगलादेशसँगको सीमामा तीन नयाँ सैनिक ग्यारेसन स्थापना गर्दै आफ्नो सुरक्षा रणनीति अब स्पष्ट र आक्रामक हुने संकेत दिएको छ । ढुब्री नजिक बामुनी, बिहारको किशनगन्ज र पश्चिम बंगालको चोप्रामा स्थापना गरिएका यी ग्यारेसनहरू सिलिगुडी गलियाराको सुरक्षालाई लक्षित छन् । जुन भारतको उत्तर–पूर्वी भागलाई मुख्यभूमिसँग जोड्ने जीवनरेखा मानिन्छ ।
भारतीय सुरक्षा निकायका उच्च स्रोतका अनुसार, यो कदम बंगलादेशका पछिल्ला राजनीतिक गतिविधि र ‘सद्भाव विपरीतका व्यवहार’का प्रतिक्रियामा लिइएको हो । हालै ढाकामा आयोजित एक कार्यक्रममा बंगलादेशका कार्यवाहक नेताले पाकिस्तानका सेनाप्रमुखलाई उपहार दिएका पुस्तकमा भारतको उत्तर–पूर्वी भूभागलाई ‘ग्रेटर बंगलादेश’को रूपमा देखाइएको घटनापछि भारतमा असन्तुष्टि चर्किएको थियो ।
स्रोतका अनुसार भारतले अबदेखि ‘अस्पष्ट कूटनीतिक जवाफ’ नदिइकन, ‘स्पष्ट, आत्मविश्वासी र दृढ कार्यनीति’ अपनाउनेछ । नयाँ ग्यारेसनहरूले सीमाक्षेत्रमा निगरानी, सैन्य गतिशीलता र छिटो प्रतिक्रिया क्षमतामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । भारतको नयाँ सीमा रणनीति तीन स्तम्भमा आधारित बताइएको छ, आक्रामक कूटनीति, पूर्वाधार सुदृढीकरण र सैन्य तत्परता ।
नयाँ दिल्लीले आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि चुनौती आयो भने बलियो र तुरुन्त प्रतिक्रिया दिइने चेतावनी पनि दिएको छ । भारतको यो कदमले दक्षिण एशियामा नयाँ शक्ति सन्तुलनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । धेरैले यसलाई ‘भारतको धैर्यको अन्त्य र निर्णायक चरणको सुरुवात’का रूपमा व्याख्या गरेका छन् ।
सत्यपाटी