चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादी अहिले अस्तित्वहीन मात्रै बनेको छैन, यसको नेतृत्व तह पनि तीन भागमा विभाजित भएका छन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रसहित नौवटा दलसँग एकता गरेर नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिसकेका छन् ।
यता, एकीकृत समाजवादी महासचिव घनश्याम भुसालसहितका केही नेताहरू पुनः नेकपा एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने प्रयासमा छन् भने सचिव रामकुमारी झाँक्री लगायतका नेताहरूले भने पुरानै पार्टी नेकपा (एमाले)मा फर्कने घोषणा गरेका छन् । एमाले फर्किने टिममा झाँक्रीसहित कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापा, डा.वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पीताम्बर श्रेष्ठ, अर्जुन राईहरू छन् ।
जेनजी आन्दोलनपछि पुराना दलहरूको अस्तित्व नै संकटतर्फ उन्मुख भएका वेला माओवादी–एकीकृत समाजवादी एकताको निर्णयमा पुगे भने सोही समयमा एमालेले पनि विगतमा पार्टी छाडेकाहरूलाई आउन आह्वान गर्यो । यही मौकामा विगतदेखि नै एमालेप्रति नरम देखिँदै आएका झाँक्री र श्रेष्ठ लगायतका नेताहरू एमाले फर्कने निष्कर्षमा पुगेका हुन् । तर, उनीहरू पार्टीगत तथा समूहगत एकताका रूपमा नभई व्यक्तिगत रूपमा एमालेमा फर्कनुपर्नेछ ।
किनभने एमाले नेतृत्व व्यक्तिगत रुपमा मात्रै स्वागत गर्न तयार छ । यतिमात्र होइन, नीति, नेतृत्व र पदसम्बन्धी कुनै ‘बार्गेनिङ’का लागि पनि एमाले नेतृत्व तयार छैन । त्यही कुरा नमिल्दा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्तिम समयमा आएर प्रचण्ड–माधव एकतामै मिसिए । झाँक्रीसहितको समूहले एमाले फर्कने घोषणा गरेपछि अध्यक्ष ओलीले उनीहरुलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा चासो सर्वत्र छ । झाँक्री फर्कँदा दुई विषय चर्चामा छन्, एउटा एमाले फुटाउन झाँक्रीले खेलेको भूमिका र अर्को ओलीविरूद्धको भाषण ।
२०७८ भदौ २ गते एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपालले ५० वर्ष पसिना बगाएको पार्टी परित्याग गरेर नयाँ आन्दोलन निर्माण गर्दै थिए । त्यसबेला माधवसँग थुप्रै सहयात्री छुटेका थिए । एमाले कालमा लामो समयदेखि उनलाई साथ दिँदै आएका अमृत बोहरा, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत पहिलो पुस्ताका नेता मात्र होइन, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट लगायत नेताहरूले अन्तिम समयमा माधवको साथ छोडेका थिए । एमालेको तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहेकी झाँक्रीले भने माधवलाई दर्बिलो साथ दिइन् ।
नयाँ पार्टी दर्ता गराउन उनले माधवलाई हात समात्दै निर्वाचन आयोगमा लगेकी थिइन् । त्यो दृश्य एमाले विभाजनको ठूलो विम्ब बनेको थियो । अहिले त्यही दृश्यले नेता झाक्रीलाई पिरोलिइरहेको छ । झाँक्रीले यसअघि पनि पटकपटक आत्मालोचना र पश्चात्ताप प्रकट गरेकी थिइन् । अहिले पनि उनले आयोगको त्यो दृश्यलाई एउटा राजनीतिक परिघटना भएको र समयक्रममा एउटा विम्ब बन्न पुगेको बताइन् । अहिले फर्किएर हेर्दा त्यो विभाजनले अगाडि बढ्न बाटो नदिएको भन्दै उनले विद्रोह पुष्टि हुन नसकेको आसय प्रकट गरिन् ।
बुधबार पत्रकार सम्मेलनमा उनले भनिन्, ‘हामीले त्यस्तो अवस्थाबाट समाजवादी पार्टी निर्माण गर्यौं, जुन बेला दलभित्रको आन्तरिक लोकतन्त्र खुम्चिइरहेको थियो । जनतामा भरोसा थियो र त्यो भरोसालाई डोहोर्याउन सक्छौं होला भन्ने लागेर हामीले पार्टी निर्माण गरेका थियौं । समय क्रममा यो पार्टी विसर्जनको ठाउँमा पुग्यो, त्यो यात्रामा माधवकुमार नेपाललाई निर्वाचन आयोगतिर जाँदै गर्दाको एउटा दृश्यलाई विम्बात्मक हिसाबले ल्याएर धेरै मानिसले ममाथि प्रश्न गर्नुभयो, तिमी नेकपा एमाले विभाजनका लागि प्रमुख पात्र हौ भनेर । त्यो दृश्य एउटा विम्ब थियो । त्यो सत्य पनि थियो एक प्रकारले। तर म प्रमुख थिएँ कि थिइनँ भनेर इतिहासको कालखण्डमा हेर्दै जानुपर्छ ।’
उनले थपिन्, ‘त्यो फोटो र तपाईंहरूले बनाएको विम्बले एउटा अध्यायको अन्त्य नगरी अर्को अध्यायमा अगाडि बढ्न बाटो दिएकै थिएन, यो यात्रा अवरूद्ध छ भन्ने हामीले धेरै पहिले थाहा पाएका थियौं । हामी गलत बाटो हिँडिरहेका छौं भन्ने पनि धेरै पहिले थाहा पाएका थियौं । तर त्यसलाई सच्याउन केही हाम्रा जिम्मेवारी थिए । हामीले केही बोलेका थियौं, केही गरेका थियौं । वास्तविकता यही नै हो, हाम्रा कारणले केही भएको थियो । त्यसकारण त्यो यात्रा बीचमै टुंग्याउन सकेनौं ।’ यतिमात्रै होइन, झाक्रीलाई अहिले अर्को विम्बले पनि पिरोल्न गरेको छ ।
एमाले र नेकपा कालमा रामकुमारी झाँक्री सबभन्दा बढी नेतृत्वलाई प्रश्न गर्थिन् । नेकपाभित्रको विग्रह उत्कर्षमा पुग्दै पार्टी अध्यक्ष ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि झाक्री विरोधको अग्रपंक्तिमा देखिइन् । काठमाडौंको पुराना बसपार्क अगाडि, भृकुटीमण्डप जाने सडकको मुखैमा तत्कालीन प्रचण्ड–माधवकुमार नेपाल समूहले ओलीको कदमविरूद्ध सडक सभा राखेको थियो । उक्त विरोध सभामा झाक्री मुखमा टेप टाँसेर पुगेकी थिइन ्। पार्टीभित्र बोल्न निषेध गरिएको प्रतिक्रियास्वरूप ‘बोल्न पाइन्छ’ भन्दै मुखको टेप उघारेकी थिइन् । अहिले फर्किएर हेर्दा, त्यसबेलाको ती अभिव्यक्ति र गतिविधिले कतै अराजकतालाई प्रश्रय त दिइएन ? भन्ने प्रश्न उनको मनमा उठ्न थालेको छ ।
उनले भनिन्, ‘आज के दलहरूको औचित्य सकिएको हो ? सारा राजनीतिक पार्टीहरूका कार्यालय जल्दै गर्दा लाखौं सदस्य भएका कुनै पनि दलका कुनै पनि सदस्यले किन बचाउन सकेनन् ? लाखौं पार्टी सदस्य भएका पार्टीका कार्यकर्ताले आफ्नो नेताको घर जल्दै गर्दा किन बचाउन सकेनन् ? सयौं सैनिक भएको सिंहदरबार किन कसैले जोगाएनन् ? सैनिक मुख्यालयबाट २०० मिटर अगाडिको सर्वोच्च अदालत किन कसैले बचाएनन् ? भैरवनाथ गणबाट ५० मिटर अगाडिको राष्ट्रपति भवन किन कसैले बचाएनन् ? रोजगारी सिर्जना गर्ने निजी प्रतिष्ठानहरू जले, उद्योग–व्यापारिक प्रतिष्ठानहरू किन कसैले बचाएनन् ? यो कसले बदला लियो? भोलि हुँदैन भन्ने कुरा सायद मानिसहरूले बिर्सिएका थिए ? के भएको हो ? कहीँ न कहीँ हाम्रा अभिव्यक्ति, हाम्रा कुरा, काम वा व्यवहारले समाजमा हाम्रो जबाफदेहिता छैन भन्ने कुरा हामीले नै त सिकाएनौं ? यो प्रश्नको जबाफ आज हामीले उभिएर दिनुपर्छ भन्ने लाग्यो । यो घटना (भदौ २४ गते) को सबभन्दा जिम्मेवार राजनीतिक पार्टीहरू नै त थिएनन् ? नभए दलभित्र, पार्टीभित्रका मानिस एकअर्काविरूद्ध कसरी प्रयोग भए त ?’
यद्यपि पत्रकार सम्मेलन गरेरै एमालेमा फर्कने घोषणा गरिसकेकी झाँक्रीलाई एमालेले अहिलेसम्म औपचारिक रूपमा स्वागत गरेको छैन । १३ वर्षको उमेरदेखि राजनीति सुरू गरेकी उनी पहिलोपटक पार्टीविहीन बनेकी छन् । उनको मन एमालेमा फर्किसकेको भए पनि पाइला भने अझ प्रवेश गर्न सकेको छैन । एमालेमा फर्कन लागेका नेताहरूलाई कुन जिम्मेवारी दिइने भन्ने पनि टुंगो लागेको छैन । ‘जेनजी आन्दोलन’को प्रभावले एमालेभित्र पनि अध्यक्ष ओलीविरुद्ध प्रश्न गर्नेहरूको संख्या बढिरहेको छ । महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । त्यसैले झाँक्री समूह एमालेभित्र कहिले र कसरी समाहित हुन्छ भन्ने हेर्न केही समय कुर्नुपर्ने देखिन्छ ।
सत्यपाटी