नेपालगन्ज विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवनको निर्माण गत असोज मसान्तमा सम्पन्न भएको हो । पुस २०७९ बाट काम सुरु गरेको काठमाडौँको शर्मा एन्ड कम्पनीले आगामी पुस मसान्तमा टर्मिनल भवनको निर्माण सक्ने सम्झौता गरेको थियो । तर, निर्धारित समयभन्दा तीन महिनाअगावै निर्माण पूरा भएको हो ।
नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा झन्डै डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए । उनका अनुसार यो टर्मिनल भवनको लागत दुई अर्ब ९८ करोड रुपैयाँ रहेको छ । शर्मा एन्ड कम्पनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक रमेश शर्माले अन्तर्राष्ट्रिय उडानसमेत गर्न मिल्ने गरी काम भएको बताए ।
निर्माण आयोजनाका प्रमुख थापाका अनुसार निर्माण कम्पनीले नवनिर्मित टर्मिनल भवन २१ कात्तिकमा नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको छ । टर्मिनल भवन आगामी दिनमा नेपालगन्ज विमानस्थलबाट दिल्लीलगायत छिमेकी मुलुकका सहरमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आवश्यक पर्ने अध्यागमन, भन्सार र क्वारेन्टाइन जाँच कक्ष बनाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
टर्मिनल भवनको यात्रु क्षमता प्रतिघण्टा करिब ६२८ छ । पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफलमा फैलिएको टर्मिनल भवन क्षेत्रमा एप्रोन एरिया अर्थात् जहाज पार्किङ गर्ने स्थान पनि निर्माण गरिएको छ । जहाँ एकैसाथ एटीआर जहाज तीनवटा वा ट्विनअटर जहाज पाँचवटा पार्किङ गर्नमिल्ने निर्माण कम्पनीका प्रतिनिधि विनोद सुवेदी बताउँछन् ।
टर्मिनल भवन सेमि–बेसमेन्टसहित तीन तलाको छ । बेसमेन्ट यात्रुकक्ष र व्यावसायिक प्रयोजन दुवैमा प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । यात्रुको चाप बढ्दा व्यावसायिक प्रयोजनलाई घटाएर यात्रुकक्षका रूपमा प्रयोग गर्न मिल्ने गरी बेसमेन्टको डिजाइन गरिएको आयोजना प्रमुख थापा बताउँछन् । टर्मिनल भवनभित्र एयरलाइन्स काउन्टर १४ वटा, भीआइपी कक्ष तीनवटा, एकपटकमा १३० जनाले प्रयोग गर्न मिल्ने १० वटा सुविधायुक्त शौचालय निर्माण गरिएको छ ।
भवन परिसरमा अत्यधिक वर्षा र बाढीका बेला पनि सहजै पानीको निकास हुने गरी ढल तथा नाला निर्माण गरिएको छ । त्यस्तै, भवन परिसरमा सवारीसाधन पार्किङ क्षेत्र थप विस्तार र व्यवस्थित बनाइएको छ । विमानस्थल कार्यालयका अनुसार १०२ वटा साना चारपांग्रे, ३० वटा अटोरिक्सा र पाँचवटा बस पार्किङ गर्न मिल्नेछ ।
भवन क्षेत्रमा १० वटा इभी गाडी चार्जिङ स्टेसनका लागि पूर्वाधार पनि निर्माण गरिएको छ । भवनअगाडि करिब नौ हजार स्क्वायर मिटर क्षेत्रफलमा बगैँचा बनाइएको छ । विमानस्थल देशको पहिचान र प्रतिष्ठासँग प्रत्यक्ष जोडिएकाले टर्मिनल भवन निर्माण गर्दा सुविधा र सौन्दर्यमा विशेष ध्यान दिइएको टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख थापा बताउँछन् ।

सुविधा सम्पन्न टर्मिनल भवन बन्दा नेपालको समृद्धिमा टेवा पुग्ने मात्र नभई नेपाल र भारत दुवै देशका नागरिकलाई लाभ हुने उनको भनाइ छ । उनी भन्छन्, ‘भारतबाट रुपैडिहासम्म रेलमा आएर नेपालगन्जबाट जहाजमार्फत काठमाडौँ आउने–जाने सुविधा सहज हुने भएको छ । यसले दुवै देशका मानिसलाई लाभ पुग्छ ।’ नेपालगन्ज विमानस्थल पश्चिम नेपालकै प्रमुख विमानस्थल हो ।
यहाँबाट काठमाडौँ, पोखरा तथा कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नियमित र चार्टर फ्लाइट हुन्छन् । नेपालगन्जबाट काठमाडौँ र पोखराका लागि हुने उडानमा करिब १० प्रतिशत यात्रु भारतीय हुन्छन् । पछिल्ला दिनमा नेपालगन्जबाट दैनिक सरदर २० वटा उडान हुने गरेको छ भने करिब एक हजार ५०० यात्रुले आवतजावत गर्ने गरेका छन् । शिवरात्रि आसपासको समयमा नेपालगन्ज विमानस्थलबाट एकैदिन चार–पाँचवटासम्म चार्टर फ्लाइट हुने गरेका छन् ।
पछिल्लो समय नेपालगन्ज विमानस्थल हुँदै कैलास मानसरोवरको दर्शनका लागि जाने पर्यटकको संख्या बढ्दै गएको छ । वैशाखदेखि असोजसम्म भारतीय पर्यटक नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट पुगेर स्थलमार्गबाट हिल्सा, ताक्लाकोट हुँदै कैलास मानसरोवरको दर्शन गर्न पुग्ने गरेका छन् । गत वर्ष करिब चार हजार भारतीय नेपालगन्ज विमानस्थलबाट हुम्ला गएका थिए ।
गत वर्षदेखि चार्टर फ्लाइटमार्फत कैलास मानसरोवरको दुरदर्शनका लागि पनि भारतीय पर्यटक नेपालगन्ज विमानस्थल आउने गरेका छन् । गत वर्ष करिब पाँच हजार २०० भारतीयले नेपालगन्ज विमानस्थलबाट श्री एयरको चार्टर फ्लाइटबाट कैलास मानसरोवरको दुरदर्शन गरेका थिए । कात्तिकदेखि फागुनसम्म चार्टर फ्लाइटमार्फत पर्यटकले कैलास मानसरोवरको अवलोकन गर्ने गरेका छन् ।
नेपालगन्ज विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माणले पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने नेपालगन्जस्थित होटल सिद्धार्थका महाप्रबन्धक बद्री कोइराला बताउँछन् । सन् १९६१ देखि बाँकेको खजुरामा सञ्चालनमा आएको विमानस्थल सन् १९८० मा राँझामा सारिएको थियो । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सडक यातायात विस्तार नहुँदा नेपालगन्ज विमानस्थल पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको थियो ।
मुलुक संघीय संरचनामा गएसँगै पछाडि परेको नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माण भएपछि नेपालगन्जवासीहरू उत्साहित छन् । पछिल्ला वर्षहरूमा विमानस्थलको विस्तार र सुविधा थप्ने काम भइरहेको छ । धावनमार्ग एक हजार ५०० मिटरबाट बढाएर एक हजार ७०० मिटर बनाइएको छ भने रनवे लाइट, ओभरले र एप्रोन निर्माण गरिएको छ ।
तोकिएको समयअघि निर्माण सकिएको टर्मिनल भवन केही दिनमा नेपालगन्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गर्ने तयारी छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले छिट्टै यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए । उनले उडानको सन्दर्भमा नेपाल र भारतबीच छलफल भइरहेको पनि बताए । अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’ मा प्रतिघण्टा एक हजार ६०० जना यात्रुलाई सेवा दिन सक्ने अनुमान छ ।
सत्यपाटी