२०८३ असार १० , बुधबार 25, June 2026, Thursday

नेपालगन्जमा कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ कात्तिक २१ गते शुक्रबार

नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो ।

प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगन्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उनले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राखे ।

‘पहिला बाटो नहुँदा हवाइजहाजबाट नेपालगन्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाइजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो,’ उनी सम्झिन्छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधैँ तराईका बजारहरूमा आइपुग्छ ।

‘अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ,’ साहु तेली भन्छन् । विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग बढेको छ । नेपालगन्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ ।

भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले यसलाई बढी रुचाएका छन् । सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवल लगायतका सहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आमउपभोक्ताको रुचिमा परेको छ । अहिले नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको प्रेमलालको भनाइ छ ।

नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरमा स्याउ बिक्री वितरण गर्छन् । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगन्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्ला लगायत जिल्लाबाट सुर्खेत र नेपालगन्जमा स्याउ आउने गरेको छ ।

जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले माग अनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको प्रेमलालले बताए । उनका अनुसार गत वर्ष नेपालगन्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ ।

‘अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ,’ प्रेमलालले भने, ‘उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने होभने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।

कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङ लगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ । किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार