२०८३ भदौ २५ , बिहीबार 10, September 2026, Thursday

२१ वर्षको उमेरमा रेडियो चोरेका लालबहादुर ६८ वर्षे वृद्धावस्थामा जेल परेपछि…

विसं २०३५ सालताका रेडियोको महत्व धेरै ठूलो थियो । केहीका घरमा रेडियो बज्थे । रेडियो नभएकाहरू रेडियो भएकाका घरमा समाचार सुन्न जान्थे । जसको घरमा रेडियो हुन्थ्यो त्यो घरको शान नै बेग्लै । रेडियो भएका घरका व्यक्ति भद्रभलाद्मी गनिन्थे ।

त्यसैगरी रेडियो बजाउने शोख चढेर होला स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर रानाले २०३५ साल वैशाख १५ गते छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरे । चोरी गरेका समयमा उनी २१ वर्षका थिए ।

उनीविरुद्ध नकबजनी चोरीको आरोपमा २०३५ सालमा मुद्दा पर्यो । त्यसको १० वर्षपछि स्याङ्जा जिल्ला अदालतले २०४५ मंसिर १६ गते उनलाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनायो ।

फैसला सुनाउँदा उनी अदालतमा थिएनन् । फरार सूचीमा नाम थियो । त्यसपछि उनी लगातार फरार भइरहे । वषौँ बित्यो तर उनलाई प्रहरीले समात्न सकेन । समय बित्दै गयो । उनी ६८ वर्षमा पुगे । उनीविरुद्धको मुद्दा फैसला भएको अर्काे वर्ष विसं २०४६ मा जनआन्दोलन भयो ।

२०६२–०६३ मा दोस्रो जनआन्दोलन भयो । राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा गयो । राज्य संरचना फेरिए । अहिले भदौ २३ र २४ गते जेनजी आन्दोलन पनि समाप्त भयो । देशमा तीन तीनपटकको आन्दोलनले आमूल परिवर्तन हुँदा अब त्यो मुद्दा के बाँकी रहन्थ्यो ।

उनी यही कुरा सम्झँदै बसिरहेका थिए । उतिवेला आफूविरुद्ध मुद्दा परेको चाल पाएका लालबहादुरले अहिले त्यही मुद्दाकै कारण समात्यूँला र कारागार जानुपर्ला भनेर सोचेका पनि थिएनन् । जे सोचेका थिएनन् त्यही भइदियो ।

२०४५ सालको मुद्दा फैसला कार्यान्वयन गर्न खटिएको स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङको टोलीले पक्राउ गर्न पुग्दा ६८ वर्षको उमेरमा उनी झस्किन पुगे । प्रहरी स्रोतका अनुसार उनले नसोचेको कुरा भएको प्रतिक्रिया दिएका छन् ।

घटनाको ४७ वर्षपछि उनलाई कात्तिक १७ गते प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेकामा अदालतले फैसला कार्यान्वयनका लागि कारागार पठाएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले थाहाखबरलाई बताए । उनले भने, ‘कानुनले जति वर्षपछि पनि छाड्दैन है भन्ने सन्देश यो घटनाले दिएको छ, कानुन हातमा लिने काम र अपराधमा संलग्न हुने काम कसैले गर्नुहुन्न ।’

प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार