२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

हर्क साम्पाङले भने, ‘श्रमको राजनीतिबाट देश बदल्छौँ’

सत्यपाटीसत्यपाटी । धरान । २०८२ कात्तिक १७ गते सोमबार

धरानका मेयर हर्क साम्पाङले अब भाषण नभई, श्रमको राजनीतिबाट देश बदल्ने घोषणा गरेका छन् । जेनजी विद्रोहपछिको राजनीतिक अनिश्चिततामा पुराना दलप्रति मोहभंग भइरहेका बेला उनले ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्दै नयाँ विकल्पको स्वर गुञ्जाएका हुन् ।

आइतबार निर्वाचन आयोगबाट आफ्नो पार्टीले मान्यता पाएपछि साम्पाङले अब सबै नेपाली जनताको माग आफूहरूले पूरा गर्ने दाबी गरे । उनले सिंगो पार्टीलाई श्रम, उत्पादन र सामाजिक रूपान्तरणको एजेण्डासहित अगाडि बढाउने बताए ।

धरानको मेयरसमेत रहेका साम्पाङले यत्ति बताइसकेपछि उनका समर्थकहरूले श्रम संस्कृति पार्टीले इतिहास रच्ने बताइरहेका छन् । समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोड्नु रहेको बताइन् ।

उनले पुराना पार्टीहरूले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको बताइन् । लीजाजस्तै समर्थक रेनु साम्पाङले पनि आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गरिन् । उनले पार्टीको मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको बताइन् ।

माटो र ढुंङ्गाबिना पृथ्वी नै नरहने बताउँदै उनले पार्टीको नाम नै श्रम संस्कृति पार्टी राखिएको बताइन् । समर्थकको समर्थनले अध्यक्ष साम्पाङ पनि हौसिएका छन् । उनका समर्थकमध्येका इन्द्रकुमार चाम्लिङले पनि नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दाबी गरे । उनले बोलेर वा भाषण गरेर मात्र देशको विकास नहुने समेत बताए ।

जेनजी विद्रोह पछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले आउँदो २१ फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेको छ । खासगरी कांग्रेस, एमाले, माओवादीजस्ता दलहरूबाट देशले विकास र निकास नपाएको भन्दै मुलुक अहिलेको विध्वङ्ससम्म आइपुगेको हो । पुरानाको विकल्प भनेर अगाडि आएको रास्वपा अहिले राजनीति बाहेकका मुद्दामा अल्झिरहेको छ ।

जेनजीकै अगुवाहरू पनि आगामी मार्ग र राजनीतिक भविष्यबारे एकमत छैनन् । बालेनहरू पनि अगाडि आउनुपर्ने कतिपयको माग भइरहेको बेला उनले अब कसरी अगाडि बढ्छन् भन्ने स्पष्ट पारिसकेका छैनन् । यस्तो बेलामा हर्क साम्पाङ भने पार्टी खोलेर मैदानमा उत्रिएका हुन् । अहिले देश दिशाहीन मात्रै छैन, संकटमा पनि छ । जनतामा निराशा झनै बढ्दै छन् ।

यस्तो बेला हर्कले ‘श्रमको बाटो’ समातेका छन् । अनि आसा गरिएका अरू नयाँहरूले पनि भरोसा जगाउनुपर्ने छ । त्यस्तै पुराना दलहरूसँग पनि अझै दुई विकल्प छन् । कि सच्चिनै पर्छ, होइन भने सक्किने निश्चित छ, लोकतन्त्रमा सर्वाधिक शक्तिशाली रहेका जनतालेनै त्यो भनिरहेका छन् । जसलाई हालै जेनजीको सिंगो पुस्ताले नै देखाइसकेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार