२०८३ जेठ २५ , सोमबार 9, June 2026, Tuesday
उपन्यास अंश

‘आँसु लुकाएर पीडाको भारी बोक्न विवश भएँ’

पीडाको पहाड बोके पनि सितिमिती पुरुषले आँसु झार्दैनन् । पुरुषले रुँदै हिँड्न असुहाउँदो मानिन्छ । समाजले पुरुषलाई बलियो खम्बाको दर्जा दिएको छ । त्यसैले पनि कति आँसु लुकाएर पीडाको भारी बोक्न विवश भएँ ।
सत्यपाटीसत्यपाटी । साहित्यकार । २०८२ कात्तिक १६ गते आइतबार

केही समयमै घर पुगेँ । आमाले भित्रबाट बाहिर निस्कँदै भन्नुभयो, ‘बाइकको घुर्रघुर्र आवाज सुनेर हतारिँदै निस्किएँ । तिम्रो बाटो हेरिरहेकी थिएँ । खाना खाएकी छैन । तिमीसँगै खाना खान पर्खिरहेकी छु । मैले भनेँ, ‘आमा मैले त ससुरालीमै खाएर आएँ । हजुर खानु, ढिला भइसक्यो ।’ आमाले कर गर्दै भन्नुभयो, ‘जाऊँ न बाबु जति रुज्छ उति खाऊ । यहाँ त म खाऊ बाबु भन्छु । परदेशमा खाऊ बाबु कसले भन्छ तिमीलाई ?’ आमाको कुराले भावुक हुँदै भनेँ, ‘हो आमा, कसले खाऊ भन्ला र बिरानु मुलुकमा ? ल जाऊँ आमाछोरा सँगै खाऊँ ।

आमाले खाना पस्किँदै भन्नुभयो, ‘तिमीलाई आलु र मस्यौराको तरकारी मन पर्छ । त्यसैले मस्यौराको तरकारी पकाएँ ।’ मैले भनेँ, ‘आमा कति मेरो ख्याल गर्नुहुन्छ । सानु बच्चालाई जस्तै गरेर ।’ आमाले पस्केको खानाको थाल सार्दै भन्नुभयो, ‘हो नि बाबु, आफ्नो सन्तान सधैँ बालकै हुन्छन् । सधैँ आफ्नो सन्तान अबोध लाग्छ । आमाको मायाले पग्लिँदै भनेँ, ‘हो नि आमा सन्तानको माया विचित्रको हुन्छ । भातको गाँस निलेर आमाले प्रसङ्ग बदल्दै भन्नुभयो, ‘मेरी नातिनी सन्चै छ ? नातिनीको साह्रै न्यास्रो लाग्यो ।’

मैले भनेँ, ‘आमा हजुरकी नातिनी हाँस्छे बोल्छे ।’ आमाले दङ्ग पर्दै भन्नुभयो, ‘यति छिटो हाँस्ने बोल्ने भई नातिनी ?’ आमालाई खुसी पार्दै भनेँ, ‘हजुरकी नातिनीले मोहनी लगाउँछे । फुच्चीको झझल्को आइरहेको छ । फुच्ची आँखा वरिपरि घुमिरहेकी छ ।’ आमाले खुसी हुँदै भन्नुभयो, ‘साउँको भन्दा ब्याजको माया । नातिनीलाई कहिले देखौँजस्तो भयो ।’ मैले भनेँ, ‘धन्दा नमान्नु आमा केहीपछि नातिनी आइहाल्छिन् । अनि खेलाउनुहोला आफ्नी नातिनी ।’ आमाले भन्नुभयो, ‘अरू केही समय त उतै बस्लान् ।’

मैले आमालाई बुझाउँदै भने, ‘आमा एक्लै हुनुहुन्छ । छिटो घर जानु भनेको छु सुषमालाई । छिट्टै आउँछिन् होला ।’ आमाले भन्नुभयो, ‘हो नि तिमी गएपछि शून्य हुन्छु । नातिनी भएपछि त अलि भुल्लिन्छु नि । दिन काट्न सजिलो हुन्छ ।’ अलि प्रसङ्ग बदल्दै भनेँ, ‘आमा खाना खाएर ब्याग तयार गर्नुछ । भोलि त साइत गर्नुपर्छ । त्यो कम्पनीले छिटो बोलायो । समयमा पुग्नुपर्छ ।’ खाना खाएर ब्याग मिलाउन थालेँ । आमाले नरमाइलो मान्दै भन्नुभयो, ‘भोलि नै जाने हो र बाबु ?’ मैले सरसामान मिलाउँदै भनेँ, ‘हो नि आमा । भिसा आइसक्यो समयमै पुग्नुपर्छ ।’ त्यही दिन सबै तयारी गरेँ । दिन त्यसै बित्यो । बेलुकी समयमै खाना खाएर सुत्यौँ ।

ब्युँझिदा बिहानीको पहरले स्वागत गरिरहेको थियो । एकाएक सम्झेँ आज त बाहिर जाँदैछु । घरदेखि टाढा बस्दा कस्तो हुन्छ होला ? त्रिभुवन विमानस्थलदेखि परको दृश्य कस्तो छ होला ? अनेकौँ कौतुहल जाग्यो । उठेर फ्रेस भएँ । आमा पनि उठ्नुभयो । नित्य कर्ममा लाग्नुभयो । पूजापाठ गर्नुभयो । मैले चिया पकाएँ । आमाछोराले सँगै बसेर चिया पियौँ । आमाले गिलासको चिया सुरुप्प पार्दै भन्नुभयो, ‘कति समयका लागि जान्छौ बाबु ?’ मैले अनजान हुँदै भनेँ, ‘खोई आमा, केही थाहा छैन । एउटा बास बनाएर फर्किंयौं भनेको हो । हेरौँ के हुन्छ ? कस्तो हुन्छ ?

आमा बिहानै निस्किन्छु । काठमाडौँमा धेरै काम छ । श्रममन्त्रालय जानु छ । अफिस समयमै पुग्नुपर्छ । म बिदा हुन्छु आमा ।’ आमाले भन्नुभयो, ‘केही त खाएर जाऊ बाबु । मैले भनेँ, ‘होइन आमा, बिहानै केही खान मन छैन ।’ आमाले दसैँमा जस्तै राता अक्षता मुछ्नुभयो । टिका लगाइदिनुभयो । ‘मेरा बाबुलाई ठेस नलागोस्, टाउको नदुखोस्, चिताएको पूर्ण होस्, भगवान् दाहिना होउन् । शुभयात्रा बाबु ।’ आशीर्वाद दिँदै भक्कानो छोडेर रुनुभयो । मैले पनि भावुक हुँदै आमालाई ढोग गरेँ । बलिन्द्र धारा आँसु बगे । मन क्षतविक्षत भयो ।

मस्तिष्कमा तुफान चल्यो
आफैँभित्र आगो बल्यो
आमाको काख छोड्दा,
यो मन जल्नु जल्यो ।

मैले कहिल्यै आमाको काख छोडेको थिइनँ । आमाभन्दा टाढा रहनु निक्कै कठिन थियो । तर पनि जिन्दगी चाहेको जस्तो कहाँ हुन्छ र । म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भनेजस्तो भइरहेको थियो । सोच्यो एउटा, हुन्छ अर्को । म रुँदैरुँदै बाटो लागेँ । आमाले धोतीको सप्काले आँसु पुछ्दै हेरिरहनुभयो ।

०००

सुरु भयो मेरो वैदेशिक यात्रा । पाइलाहरू अगाडि बढे । नजिकैको मेनरोडमा पुगेँ । बस स्टेसनमा बसेँ । काठमाडौँ जाने बस आइपुग्यो । हात उठाउँदै बस रोकेँ । ड्राइभरले बस रोक्यो । बसमा चडेँ, बसभित्र नजर चहार्यो । खाली सिटमा गएर बसेँ । बस पुनः दगुर्यो । नारायणघाट हुँदै बस मोडियो । लामो रुटको बस तीव्र रफ्तारमा थियो । वनजङ्गल हरियाली थियो । मुग्लिन सडकखण्डमा बस हुँइकिरह्यो । बस मुग्लिन हुँदै पूर्व मोडियो ।

सानु दुई लाइनको महेन्द्र राजमार्ग, ठुला ठुला पहाड, सडक छेउमै त्रिशूली नदी अविरल बगिरहेकी, भिर, पाखाहरू हुँदै त्रिशूलीको किनारैकिनार बस अगाडि बढिरह्यो । बसको झ्यालबाट नियाल्दै थिए । सुन्दर प्रकृति मुस्कुराइरहेकी थिइन् । उषाकालीन समयले सौन्दर्य छरिरहेको थियो । पूर्वबाट सूर्य नारायणको उदय भयो । पहाडका चुचुरामा सूर्यको प्रकाशले स्पर्श गर्यो । पखेराका कान्लाहरूमा अग्ला चुचुराको छायाँ देखिन्थ्यो । ठाउँठाउँमा झरनाहरू कलकलाइरहेका थिए । यात्राभरि नारायण गोपालको स्वरमा समधुर गीत घन्किरह्यो ।

आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ ।
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ ।

गीतका हरेक शब्द शब्दमा आफैँ प्रतिबिम्बित भएँ । एकपछि अर्को सेन्टिमेन्टल गीतले भावुक भएँ ।

म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु ।
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।

यस्तै सेन्टिमेन्टल गीतहरू मेरै मनको भाका बोलिरहेका थिए । गीतका शब्द शब्दहरूले मन मस्तिष्क तरङ्गित भए । अविरल बहावको त्रिशूली नदीसँगै म पनि बगिरहेँ । सुसाइरहेकी त्रिशूली कानमा गुञ्जिइरह्यो । एकातिर विशाल त्रिशूली, अर्कातिर विशाल पहाडसँगै विशाल भिरबिचको सानो सडकमा बस दगुरिरह्यो । जति अगाडि बढ्यो यात्रा, उति मन कोमल हुँदै थियो । भौगोलिक वातावरण, प्रकृतिसँग लीन हुँदै थिएँ । मन तरङ्गित हुँदै थियो । आफैँभित्र उथलपुथल भएँ । त्रिशूलीसँगै भावनाहरू बग्दै गए ।

ती झरनाहरूमा निथ्रुक्क भिजिरहेँ । चिसो बताससँगै बहकिइरहेँ । उदीयमान सूर्यका किरणसँगै रङ्गिइरहेँ । ती अग्ला भिरपाखासँग साक्षात्कार भएँ । मन सिमलको भुवाजस्तै उडिरह्यो । प्रकृतिले बहार ल्यायो । उथलपुथल भएँ । कृष्णभिरको पहिरोसँगै आफैँभित्र पहिरो गयो । बतिला जस्ती छोरीलाई झल्झली देखेँ । भर्खरकी सुकोमल श्रीमतीको याद आयो । बुढी भएकी आमाको मुहार सम्झेँ । आँखा सजल भए । परेली निथ्रुक्क भिजे । तप तप आँसु झरे । कतै कसैले देख्छ कि भनेर सिटमा घोप्टो परेँ । पुरुषको आँखामा आँसु सुहाउँदैन भन्छ सामाजले ।

त्यसैले आपूmलाई कठोर बनाउन खोजेँ तर विफल भएँ । पुरुषको पनि उही मन हो । कुनै पत्थर त होइन । कृष्णभिरको पहिरोसँगै आफैँभित्रको पहिरो रोकिएन । त्रिशूली नदीसँगै आँसुको भेल बगिरह्यो । पुरुषको मनभित्र आगो बले पनि, बाहिर बलियो देखिनुपर्ने । बलियो पुरुष बनाउन कुनै दिव्यास्त्र फेला परेन । आफैँलाई सम्हाल्न निक्कै प्रयास गरेँ । गाग्रीको पानी घोप्टिएको जस्तै राम्रैसँग पोखिएँ । छताछुल्ल छरपस्ट भएँ । घरबाट हिँड्दा भारी मन, अलि हलुको भयो । पोखिनु पनि आफूलाई हलुको बनाउनु हो ।

पीडाको पहाड बोके पनि सितिमिती पुरुषले आँसु झार्दैनन् । पुरुषले रुँदै हिँड्न असुहाउँदो मानिन्छ । समाजले पुरुषलाई बलियो खम्बाको दर्जा दिएको छ । त्यसैले पनि कति आँसु लुकाएर पीडाको भारी बोक्न विवश भएँ । मनको व्यथा अप्रत्यक्ष हुन्छ । झारेको आँसु प्रत्यक्ष हुन्छ । वन डढेको देखिन्छ । मन डढेको कसले देख्ने ? यात्रा जारी थियो । अनेकौँ तरङ्ग बुन्दै थिएँ । आफैँभित्रको कथा मनस्थितिमा घुमिरह्यो । जतिजति अगाडि लाग्यो । उतिउति परिवारको याद गाढा भयो । नारायण गोपालको सुमधुर स्वरमा रहेको गीत यसरी गुञ्जिइरह्यो,

झरेको पात झैँ भयो,
उजाड मेरो जिन्दगी ।
निभेको दीप झैँ भयो,
उदास मेरो जिन्दगी ।

कारुणिक गीतहरूमा मेरो आफ्नै मनको भाका घन्किरहेको थियो । त्यो गीत मेरै हो जस्तो लाग्यो । बस आफ्नै रफ्तारमा मलेखु पुग्यो । बस सुस्त गतिमा अडियो । खालासीले चिच्याउँदै भन्यो, ‘खाजा खाने ठाउँ आयो । उत्रिनुहोस्, शौचालाय जानुहोस्, खाजा खानुहोस् । खाजाको समय आधा घण्टा मात्र हो । यात्रुहरू खाजा खान ओर्लिए । कोही बाथरूमतिर लागे । कोही खाजा खानतिर लागे । म पनि बाथरुम गएँ । पिसाबले अत्याएको थियो । पिसाब फेरेँ । हलुको महसुस भयो । हातमुख धोएँ । होटेलमा चना, खिर र आलुको तरकारी थियो । खिर र आलुको तरकारी खाएँ ।

खाजाको पैसा तिरेँ । पुनः बसमा गएर बसेँ । अरू यात्रुहरू पनि खाजा खाएर बसमा बसेँ । पुनः बस घुमाउरो बाटोमा अघि बढ्यो । भिरहरूका अनेकौँ मोडहरू थिए । निक्कै धरापिलो बाटोमा बस आफ्नै रफ्तारमा थियो । अर्को दिसातिरबाट आउँदै गरेको बससित मित लागाउने जस्तो अवस्था हुन्थ्यो । दुई लाइनको सडक, अत्यन्त साँघुरो थियो । भिरको मोडहरूले आउँदै गरेको बस छेल पथ्र्यो । हरेक मोडहरूमा बस लुकामारी खेलेको भान हुन्थ्यो । छेल परेका मोडहरूमा दुवै दिशाका बसहरू जुध्लान् जस्तो लाग्दै थियो । अलिकति चिप्लिए सिधै त्रिशूलीमा पौडिने अवस्था ।

बसभरिका यात्रु ड्राइभरमाथि विश्वस्त थियौँ । ड्राइभरले निक्कै सजग हुँदै गाडी चलाउँदै थिए । त्यसै सन्दर्भमा गीत बनेको हुनुपर्छ । उकालीमा पनि हजुर मोटर जाँदोरहेछ । ड्राइभर दाइलाई सलाम छ हजुर जाऊँ जाऊँ रेलैमा । नेपालको पहाडी क्षेत्रमा गाडी चलाउन कठिन छ । ज्यानकै बाजी राखेर कैयौँ यात्रु बोक्ने ड्राइभरको भूमिका उच्च लाग्यो । सम्मान जागेर आयो । ड्राइभर पेसा न सम्मान छ, न तक्मा छ । न त राज्यको कुनै व्यवस्थापन छ । निद्रा नै हराम गर्छन् रात्रि बसहरूका चालकहरू । हामीलाई एक दिनको यात्रा त कति गाह्रो हुन्छ ।

यी सधैँ गाडी चलाउनेलाई कति गाह्रो हुन्छ होला ? लामो दूरीका चालकहरू त कैयौँ घण्टा निरन्तर गाडी चलाउँछन् । हजारौँ यात्रुको प्राण बचाएर सफर गरिरहेका हुन्छन् । मेरो मनमा खुल्दुली चल्यो । बस चालकलाई भनेँ, ‘गुरुजी, एक ड्राइभरको योगदान पाइलटको भन्दा कम छैन । ड्राइभरले स्ट्रेरिङ घुमाउँदै भनेँ, ‘के गर्नु हजुर । पढ्ने बेलामा गुच्चा खेलियो । गाडी त चलाउनै पर्यो । परिवार पाल्नै पर्यो । उकालो, ओरालो, घुमाउरो, भिरपाखा हुँदै बस आफ्नै गतिमा थियो । निक्कै संवेदनशील यात्रा जारी थियो । बसभरिका यात्रुको प्राण लिएर हिँडेका ड्राइभर निकै सचेत थिए । मेरा आँखा लागेको मात्र के थियो । भुसुक्कै निदाएछु । सपना देखेछु ।

एकान्त जङगलभित्र आफैँ हराइरहेको रहेछु । बाटो खोज्दा खोज्दै झल्यास्स ब्युँझिएँ । यात्रामै रहेछु । अचम्म लाग्यो के सपना देखेँ होला । यो यात्रामा पनि के सपना देखेको होला ? साँच्चि नै म हराउने त होइन । मनमा त्रास उब्जियो । परदेश जाँदैछु । कतै उतै विलीन हुने हो कि ? अनेकौँ शङ्का उपशङ्का उब्जियो । व्यर्थ मनमा सुनामी आए जस्तो भयो । उकालो, ओरालो, भिरालो अनेकौँ मोड हुँदै थानकोट पुगियो । बस रोकियो । गाडीहरू लाइनबद्ध थिए । लामो जाम थियो । चेकपोस्टमा चेकिङ हुँदै थियो । चिसो बतासले स्पर्श गर्यो । भ्यालीभित्रको आभास दिलायो मौसमले । बाक्ला बस्तीहरू देखिए । आँगनै मासेर बनाइएका घरहरू देखिए । हामी बसेको गाडीको पनि चेकिङ भयो । गाडीहरूको लाइनमा बस सुस्त गतिमा अगाडि बढ्यो । काठमाडौँले स्वागत गर्यो । म राजधानीमा प्रवेश गरेँ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार